
काठमाडौं, ३१ जेठ – रुसमा आज बिहीवारदेखि विश्वकप फूटबल शुरू हुन गइरहेको छ । कुल ३२ दिनसम्म चल्ने यो प्रतियोगितामा ११ शहरमा १२ स्टेडियममा ६४ वटा खेल हुनेछन् ।
पहिलो म्याच आज राति पौने ९ बजे आयोजक टोली रुसको प्रतिस्पर्धा साउदी अरेबियासँग हुँदैछ । मस्कोको लुझनिकी स्टेडियममा यो खेल हुँदैछ ।
आयोजक टोलीले पहिलो खेल कहिले पनि हारेको छैन । त्यसैले आजको खेलमा रुसको सम्भावना बलियो देखिन्छ । तर रुस र साउदी अरेबिया अन्य टोलीका तुलनामा अत्यन्तै कमजोर टीम हुन् । कमजोर टीमहरूबाट विश्वकप शुरू गरिएको यो पहिलो अवसर हो ।
खेलअघि लुझनिकी स्टेडियममा पौने ७ बजे उद्घाटन समारोह राखिएको छ । उक्त समारोहमा ५०० कलाकारले प्रस्तेति दिँदैछन् ।
प्रतियोगितालाई ३५० करोड मानिसले हेर्ने अपेक्षा गरिएको छ । यसबाट फिफाले ६६ हजार करोड रुपैयाँ कमाउँदैछ ।
उद्घाटन समारोहमा इंग्ल्यान्डका पपस्टार रबी विलियम्स, गायक जसआन डिएगो फ्लोरेज र ओपेरा सिंगर प्लासिडो डोमिगो र रुसी ओपेरा सिंगर गरीफुल्लिनाले प्रस्तुति दिनेछन् ।
त्यो समारोह र म्याचका बेलामा ३० हजार जवानले सुरक्षा दिनेछन् । लडाकू विमानहरूको टुकडीले पनि सम्भावित खतरालाई रोक्ने प्रयास गर्नेछ ।
विश्वकपमा ३२ टीमले भाग लिएका छन् । तिनलाई चार–चार टोलीको दरले आठ समूहमा बाँडिएको छ ।
प्रत्येक समूहबाट दुई–दुई टोली नकआउट चरणमा पुग्नेछन् ।
आइसल्यान्ड र पनामा विश्वकपमा पहिलोपटक छनोट भएका हुन् ।
विश्वकपमा पहिलोपटक भिडियो रेफरल प्रणाली अपनाइएको छ ।
फूटबलमा यसपालि चिप जडान गरिएको छ । टेलस्टर–१८ फूटबलमा जडान गरिएको चिपलाई स्मार्टफोनमा कनेक्ट गर्न सकिनेछ ।
एजेन्सी