
काठमाडौं, १ असार– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयका पदाधिकारी र नेपाल प्रहरीका प्रमुखबीच बुधवार बसेको बैठकपछि सरकारले विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ ।
गृह मन्त्रालयले विद्युत चोरी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई नै निर्देशन जारी गरेपछि विद्युत चोरी नियन्त्रण अभियानलाई कडाइका साथ अगाडि बढाइएको हो ।
यस क्रममा केही ठाउँमा भने जनप्रतिनिधि नै बिद्युत चोरीमा संलग्न रहेको पाइएका छन् । विद्युत् चोरीमा संलग्न रहेको भन्दै प्रहरीले २ जिल्लामा वडाध्यक्षलाई नै पक्राउ गरेको छ ।
विद्युत चोरी नियन्त्रणका लागि बिहीवार विद्युत प्राधिकरणका कर्मचारी र प्रहरीसहितको टोलीले काभ्रेबाट एकजना वडाध्यक्षलाई पक्राउ गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लम्साल पक्राउ परेका हुन् ।
यस्तै सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामानन्द चौधरी पनि विद्युत चोरी गरेको अभियोगमा पक्राउ परेका छन् ।