
काठमाडौं, २ असार – अर्जेन्टिना फूटबल एसोसिएसनले विश्वकपअघि इजरायलविरुद्ध जेरुसेलममा मैत्रीपूर्ण खेल रद्द गरेपछि आएको विवादले राष्ट्रिय टोलीको तयारीलाई छायाँमा पारेको छ ।
विश्वकपअघि अर्जेन्टिनाले ब्युनर्स आयर्समा हाइटीविरुद्ध मात्र खेल्न पायो र त्यसमा उसले कुनै चुनौती बेहोर्नुपरेन ।
अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले राष्ट्रिय टोली व्यवस्थापकका रूपमा जम्मा ११ खेलमा सहभागिता जनाएका छन् र आफ्ना खेलाडी तथा खेल्ने तरिकाको परीक्षणका लागि इजरायलसँगको खेल उनका लागि महत्त्वपूर्ण थियो ।
उनको फूटबल खेलाउने तरिका जटिल छ र उनी खेलाडीहरूलाई योजनामुताबिक नै खेल्न लगाउँछन् । सन् २०१५ मा उनी चिलीको कोच थिए र उनको त्यही शैलीका कारण चिलीले कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई हराउन सकेको थियो । तर अहिले अर्जेन्टिनाले साम्पाओलीको प्रशिक्षणमा राम्ररी एकजुट हुनै पाएको छैन ।
साम्पाओलीले अर्जेन्टिनालाई विश्वकपमा बल्लबल्ल पु–याए अनि छनोट चरणमा थुप्रै अप्ठ्यारा बेहोरे ।
इक्वेडरविरुद्धको अन्तिम खेलमा लियोनेल मेस्सीले ह्याटट्रिक गरेपछि मात्र अर्जेन्टिना छानिन सफल भएको थियो । यसबाट पनि अर्जेन्टिनाको टीममा एकजुटता र रणनीतिको अभाव छ र टोली मेस्सीमा पूर्णतः निर्भर छ भन्ने देखिन्छ ।
चिलीसँग कोपा अमेरिकाको फाइनलमा हारेको पीडामा अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिएका मेस्सीले संन्यास फिर्ता नलिएको भए त अर्जेन्टिना विश्वकपमै छनोट नहुने रहेछ । सन् २०१६ को नोभेम्बरदेखि अर्जेन्टिनाले गरेको प्रतिस्पर्धात्मक गोल मेस्सीले मात्र हानेका छन् ।
मेस्सी हुँदा अर्जेन्टिनाले निकै राम्रो प्रदर्शन गर्छ । उनी नहुँदा टोली नै डुब्छ ।
‘हामी जहिले पनि अर्जेन्टिना एक उम्दा टोली हो भन्छौं र अहिले उनीहरूको टोलीलाई हेर्दा फर्वार्डमा मेस्सी छन् तर खै मिडफील्ड र डिफेन्स ?’ क्रोएसियाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रोबर्ट प्रोसिनेकी बताउँछन्, ‘अरू खेलाडी सबै थाकेहारे जस्ता देखिन्छन् ।’
मेस्सीको र अर्जेन्टिनाका अन्य खेलाडीको खेलस्तरमा आकाश जमीनको फरक छ यद्यपि साम्पाओलीसँग यसपालि केही राम्रा फर्वार्डहरू छन् ।
तर समस्या के भने उनीहरू सबैलाई स्वस्थ र एकजुट राख्न समस्या छ । मेस्सी, सर्जिओ अग्वेरो, गोन्जालो हिगुएन र पाउलो डाइबाला एउटै टोलीमा हुनु साम्पाओलीका लागि खुशीको खबर हो तर ती खेलाडीहरूको शैलीमा नितान्त भिन्नता भएका कारण टोलीलाई विजयी गराउन अप्ठ्यारो छ ।
पहिलो रोजाइका गोलकीपर सर्जिओ रोमेरो अनि मिडफील्डर म्यानुएल लान्जिनी घाइते भएका कारण अर्जेन्टिना संकटमा छ । लान्जिनीको ठाउँमा एन्जो परेज आएका छन् तर रोमेरोको ठाउँमा को आउने भन्ने निश्चित छैन । फ्रान्को अर्मानी वा विल्ली काबालेरोको नाम आइरहेको छ ।
गत मार्चमा स्पेनविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ६ गोल खाएको थियो अनि त्यसमा मेस्सीले खेलेका थिएनन् । उक्त खेलले अर्जेन्टिनी टोलीका सबै कमजोरीलाई छताछुल्ल पारिदिएको थियो । त्यतिखेर मेस्सीले लज्जास्पद पराजय सहन नसकेर आफ्नो सीट छोडेर हिँडेको दृश्य मानसपटलमा ताजै छ ।
नाम मात्र सुन्दा त अर्जेन्टिनाले समूह चरण सजिलै पार गरेर निकै माथि पुग्नुपर्ने हो । तर आइसल्यान्ड र क्रोएसियालाई अर्जेन्टिनाले कम आँक्ने भूल गर्न मिल्दैन । अनि नाइजेरियासँग पनि जीतको कुनै ग्यारेन्टी छैन । केही महिनाअघि नाइजेरियासँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ४–२ ले हारेको थियो ।
यो सबैको अर्थ हो : अर्जेन्टिना यो प्रतियोगितामा समस्यै समस्या लिएर आएको छ । चार वर्षअघि ब्राजिलमा उनीहरूलाई एक व्यक्तिको टोली भन्ने आरोप लागेको थियो तर त्यसको तुलनामा टोली अहिले झन् बिजोग अवस्थामा छ । विश्वकपमा राम्रो प्रगति गर्ने हो भने मेस्सीले नै टोलीलाई घिसार्नुपर्ने देखिन्छ ।
गोल डट्कममा छापिएको पिटर स्टन्टनको रिपोर्ट