काठमाडौं, ४ असार – ब्राजिलका सुपरस्टार नेयमार आइतवार स्विट्जरल्यान्डसँगको खेलमा अनौठो केशविन्यास (हेयरस्टाइल) का कारण सामाजिक सञ्जालमा मजाकको पात्र बनेका छन् ।
उनले आफ्नो कपाललाई खैरो बनाएर ठड्याएका छन् अनि त्यो हेर्दा परालको थुप्रो वा स्पागेटी नामक खानेकुराको त्यान्द्रो जस्तो देखिन्छ ।
सबैले कपालको मजाक उडाएपनि पेरिस सेन्ट जर्मेन टोलीका स्टार नयाँ हेयरस्टाइलले उनी आफू र ब्राजिलका लागि भाग्यमानी साबित हुनेमा विश्वस्त छन् ।
नेयमार जस्तै उनका अग्रज खेलाडी रोनाल्डोले सन् २००२ को विश्वकपमा नयाँ हेयरकट बनाएका थिए र त्यसको पनि खुबै मजाक उडाइएको थियो । तर त्यतिखेर रोनाल्डोले ब्राजिललाई विश्वकप दिलाउन प्रमुख योगदान गरेका थिए ।
एजेन्सी