२५ जेठ २०८३, सोमबार

बलियो बेल्जियमविरुद्ध पाको डेब्यू टीम पानामा : कसले मार्ला बाजी ?

बलियो बेल्जियमविरुद्ध पाको डेब्यू टीम पानामा : कसले मार्ला बाजी ?
तस्वीर : फिफा

काठमाडौं, ४ असार - फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमले सोमबार विश्वकपको नयाँ टोली पानामासँग खेल्दैछ ।

'समूह जी' अन्तर्गतको यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ । फिफा वरीयतामा ५५औं स्थानमा रहेको पानामासँग बेल्जियमले अहिलेसम्म खेलेको छैन ।

बलियो बेल्जियम

बेल्जियम रुस विश्वकपमा उपाधिको दाबेदारमध्ये एक टीम हो । इडेन हजार्ड, केभिन डी ब्रुएन, रोमेलु लुकाकु, भिन्सेन्ट कोम्पानी, थिबाउट कोर्टियोसजस्ता स्टार खेलाडीको जमघट यो टीममा छ ।

यद्यपि बेल्जियमको विश्वकप यात्रा भने सफल रहन सकेको छैन ।

विश्वकपमा बेल्जियमको सबैभन्दा ठूलो सफलता सन् १९८६ मा सेमीफाइनल पुग्नु हो । सन् २०१४ मा उसले क्वार्टरफाइलनसम्मको यात्रा तय गर्‍यो ।

यसबाहेक प्राय: सबै सहभागितामा बेल्जियम ग्रुप स्टेज र राउण्ड अफ १६ मै सीमित बन्ने गरेको छ ।

आजको खेलमा स्ट्राइकर बत्सुयी र डिफेन्डर कोम्पानीले खेल्नेमा शंका छ । यद्यपि यसको त्यति ठूलो असर पर्ने देखिँदैन ।

लुकाकु टीममा रहँदासम्म बत्सुयीको अभाव खड्किँदैन भने कोम्पानी बेञ्चमा रहे पनि टोटनह्याम हट्सपरका प्रभावशाली डिफेन्डरद्वय आल्डेरियारेल्ड, भर्तोङहेन रक्षापंक्तिको नेतृत्व गर्न सक्षम छन् ।

प्रशिक्षक रोबर्टो मार्टिनेजसँग क्षमतावान खेलाडी र प्रभावशाली टीम छ । यी खेलाडीहरूलाई मनोवैज्ञानिक रूपमा चुस्त राख्नु नै मार्टिनेजका लागि चुनौती रहनेछ ।

अमेरिकालाई जिल्ल पार्दै विश्वकपमा पानामा

पानामा रुस विश्वकपमा कमजोर मध्येको एक टीम हो । उत्तर अमेरिकी तथा क्यारेबीयन छनोटमा अमेरिकालाई जिल्ल पार्दै पानामाले विश्वकपमा स्थान पक्का गरेको थियो ।

क्वालिफायरअन्तर्गत कोस्टारिकासँगको खेलमा २-१ ले विजयी हुँदै पानामाले विश्वकपमा स्थान पक्का गरेको हो । उसका लागि रोमन टोरेस र ग्याब्रियल टोरेसले गोल गरेका थिए ।

८८औं मिनेटमा रोमनले गरेको गोल पानामालाई विश्वकपमा पुर्‍याउन निर्णायक बन्यो ।

सोही राउण्डमा ट्रिनिडाड एण्ड टोबागोसँग पराजित भएपछि उत्तर अमेरिकी पावर हाउस अमेरिका विश्वकपमा स्थान बनाउन असफल रह्यो ।

अमेरिकाले विश्वकप खेल्ने गरेकै कोटामा पानामाले आफूलाई सुरक्षित गरेको थियो ।

विश्वकपको पूर्वसन्ध्यामा पानामाका स्टार खेलाडी रिकार्डो क्विन्टेरो इञ्जुरीका कारण टीमबाट बाहिरिएका छन् ।

ग्याब्रियल टोरेस र बल्स पेरेजमध्ये एक खेलाडीले अग्रपंक्ति सम्हाल्नेछन् ।

१९९८ मा जमैकाले जापानलाई आफ्नो पहिलो खेलमा २-१ ले पराजित गरेयता यस कन्टिनेन्टका कुनै पनि टीमले डेब्यू खेलमा जित दर्ता गर्न सकेका छैनन् । आफ्नो क्षेत्रबाट विश्वकपमा डेब्यू गर्ने पानामा ११औं टोली हो ।

यसअघि सन् २००६ मा ट्रिनिडाड एण्ड टोबागोले विश्वकपमा डेब्यू गरेको थियो ।

पानामा विश्वकपमा सबैभन्दा बढी पाका खेलाडीहरूको टीम हो । यस टीमको औसत उमेर २९.६ वर्ष छ ।

प्रशिक्षक हर्नान गोमेज भने विश्वकपका अनुभवी प्रशिक्षक हुन् । उनले सन् १९९८ मा कोलम्बिया र २००२ मा इक्वेडरको टीम सम्हालिसकेका छन् ।

सम्भावित टीम :

कसले जित्ला ?

यो खेल बेल्जियमले जित्ने सम्भावना प्रबल छ ।

यद्यपि जारी विश्वकपमा तुलनात्मक रूपमा कमजोर मानिएका टोलीले उपाधिको दाबेदार भनिएका टीमहरूलाई पराजित गरिरहेकाले पानामाले पनि त्यही मनोविज्ञानलाई आफ्नो पक्षमा सदुपयोग गर्नसक्ने सम्भावना पनि रहन्छ ।

salt training

कमेन्ट गर्नुहोस्