०१ असार २०८३, सोमबार

दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास औपचारिक रूपमै स्थगित ग–यो अमेरिकाले

दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास औपचारिक रूपमै स्थगित ग–यो अमेरिकाले

काठमाडौं, ५ असार – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो वाचाअनुसार दक्षिण कोरियासँगको सैन्य अभ्यास स्थगित गराएका छन् । उत्तर कोरियाका नेता किम जोङ–उनसँग अघिल्लो हप्ता गरेको भेटघाटपछि उनले अभ्यास स्थगन गरिने बताएका थिए । 

अगस्ट महिनामा गरिने भनिएको अभ्यास स्थगित गरिएको छ । 

उल्ची फ्रीडम गार्डियन नामक सैन्य अभ्यासका तयारीलाई स्थगित गर्न वाशिङटन र सउलले सहमति जनाएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले मंगलवार जनायो । ‘दक्षिण कोरिया र अमेरिकाले थप उपायका बारेमा सल्लाहहरू गरिरहनेछन्,’ मन्त्रालयले बताएको योन्हाप समाचार संस्थाले बतायो । 

तर अमेरिकीहरूसँग अन्य संयुक्त तालिम अभ्यासका विषयमा कुनै निर्णय नलिइएको दक्षिण कोरियाको मन्त्रालयले जोड दियो । दक्षिणले अमेरिकासँग मिलेर की रिजोल्भ र फोल ईगल नामक संयुक्त सैन्य अभ्यास पनि गर्ने गरेको छ । 

वाशिङटनले पनि दक्षिणसँगको संयुक्त अभ्यास तत्कालका लागि स्थगन गरिएको पुष्टि ग–यो तर यसको विस्तृत जानकारी दिएन । 

‘यससम्बन्धी कुराकानी चलिरहेको छ,’ ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले पत्रकारहरूलाई बताइन् । उत्तर कोरियाले राम्रो भावनाका साथ काम गरेमा अभ्यासहरू ‘स्थगन गरिने’ उनले थपिन् । 

पेन्टागनले यससम्बन्धमा गरेको घोषणा दक्षिण कोरियाली सेनाको जस्तै छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्