२१ असार २०८३, आइतबार

कांग्रेसमा नेतृत्व परिवर्तनको बहस : महाथिरपथ भत्काउलान् आठ युवा नेताले ?

असार ११, २०७५
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस : महाथिरपथ भत्काउलान् आठ युवा नेताले ?

नेपाली कांग्रेसका ७७ जिल्लाका सभापतिहरूको  राष्ट्रिय भेला १९ बुँदे घोषणापत्र सार्वजनिक गर्दे हालै सम्पन्न भएको छ  । थुप्रै विषयमा बहस भएपनि  कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष भेलाले  निकालेको छ । खासगरी सञ्चारमाध्यममा निषेधात्मक र नियन्त्रणकारी हस्तक्षेप न्यायपालिकालाई हस्तक्षेप गर्ने अभिव्यक्ति कर्मचारी र शैक्षिक क्षेत्रमाथिको आतंक सर्वसत्तावादको पूर्वसंकेत भएको  निचोड भेलाको  रहेको छ । त्यस्तै विद्यार्थीहरूको प्रदर्शन  र नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालयमा भएको प्रहरीको ठाडो हस्तक्षेप लगायतका गतिविधिसमेत सर्वसत्तावाद लाद्ने थप आधार भएको भेलाको निष्कर्ष रहेको छ ।

मंसिर २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि कांग्रेस कुहिरोभित्र हराएको काग जस्तै बन्न पुगेको थियो । पार्टीका केन्द्रीय नेताहरूदेखि जिल्ला तहका नेताहरू पार्टीलाई अब कुन हिसाबले अगाडि बढाउने भन्ने विषयमा अन्योलग्रस्त अवस्थामा रहेका थिए । त्यसले गर्दा पार्टीका जिल्लास्तरीय नेताहरू कसरी गाउँ तहसम्म पुग्ने भन्ने विषयमा अल्झिरहेका थिए । तर हेटौंडा भेलाले कांग्रेस जिल्ला सभापतिहरूलाई गाउँ तहका कार्यकर्तासम्म जाने एक ऊर्जा भरेर पठाएको अवस्था छ । हेटौंडामा भरिएको ऊर्जालाई जिल्ला सभापतिहरूले कुन हिसाबले सदुपयोग गर्छन् त्यो भने कांग्रेसको आगामी दिनमा हुने पार्टीका गतिविधिबाट नै स्पष्ट हुनेछ ।

राष्ट्रिय भेला कि गुटगत भेला ?

हेटौंडामा आयोजित भेला सभापतिहरूको राष्ट्रिय भेला भनिएपनि भेला शुरू हुनुअघि नै जिल्ला सभापतिहरू  दुई खेमामा विभाजित भएको प्रस्ट रूपमा देखियो । त्यसमध्ये एक समूह पार्टी सभापति शेरबहादुर देउवा र अर्को समूह कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको कित्तामा उभिन पुगे । यहाँसम्म कि दुई समूहमा विभाजित जिल्ला सभापतिहरूले आ—आफ्ना खेमाका नेताहरूलाई मात्र भेटघाट गरे । यसबाट सहजै के अनुमान लगाउन सकिन्छ भने हेटौंडामा काग्रेसका जिल्ला सभापतिहरूको भेला नभई पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहको गुटगत भेला भइरहेको हो । 

यदि त्यसो नहुँदो हो त राष्ट्रिय भेलामा भएका जिल्ला सभापतिहरूले छुट्टाछुट्टै रूपमा आ—आफ्नो खेमाका नेताहरूलाई भेटघाट गरी आफ्नो खेमाको तर्फबाट के के कुरा राख्ने भन्ने रणनीति तय गर्ने थिएनन् । त्यस्तै भेलाको पूर्वसन्ध्यामा सिन्डिकेट लाद्न खोजेको आरोप समेत लाग्यो । उक्त विषयप्रति असन्तुष्टि जनाउँदै  पूर्वमहामन्त्री कृष्ण सिटौलाले मञ्चमा आसन ग्रहण समेत बहिष्कार गरिदिए ।

युवा नेतृत्वको गर्जन

हेटौंडामा कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला जारी रहेका बेला कांग्रेसका आठजना युवा नेताहरू गगन थापा, प्रदीप पौडेल ,चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, जीवन परियार, गुरुराज घिमिरे र किरण यादवले नयाँ युगका लागि नयाँ एजेन्डा बोक्न सक्ने व्यक्ति चाहिएको भन्दै नेतृत्व परिवर्तनको मुद्दालाई अगाडि सारे ।

मुद्दा अगाडि सार्दै १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने दाबीसमेत आठ युवा नेताहरूको रहेको थियो । तर नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै गरेका यी आठ नेताहरूले आफूहरू वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाको कोटाबाट मन्त्री र केन्द्रीय सदस्य बनेको विगतलाई भुलेका थिए ।

देउवा र पौडेलको महाथिर सपना  

यता हेटौंडा भेलामा आठ युवा नेताहरूले  पार्टी १४ औं महाधिवेशनमा नयाँ युगका लागि नयाँ एजेन्डा बोक्न सक्ने व्यक्ति चाहिएको भन्दै नेतृत्व परिवर्तनको मुद्दा लिएर जिल्ला सभापतिमाझ जाँदै गर्दा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल भने  पार्टीका कार्यक्रममा ९२ वर्षको उमेरमा मलेसियामा  महाथिर मोहम्मद प्रधानमन्त्रीमा निर्वाचित भएको हुँदा आफूहरूले विश्राम लिने बेला नआएको भाषण गर्दै हिँडिरहेका छन् ।

यस्तो अवस्थामा कांग्रेसका आठ युवा नेताले अगाडि बढाएको नेतृत्व परिवर्तनको अभियान कति सफल होला ? यतिबेला कांग्रेसभित्र मात्र नभई बाहिर समेत यो बहसको विषय बन्न थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्