१२ साउन २०८३, मंगलबार

तराईमा लामो खडेरी : भूमिगत जलस्रोत र नदी नाला सुक्दै, खेतभरि दरार

असार ११, २०७५
तराईमा लामो खडेरी : भूमिगत जलस्रोत र नदी नाला सुक्दै, खेतभरि दरार

धनगढी, ११ असार – लामो खडेरीले पानीको मुहान सुक्न थालेका छन् । असार दोस्रो सातासम्म पनि मनसुनी वर्षा नहुँदा तराईमा पानीका मुहान सुक्न थालेका हुन् ।

खडेरीको बाबजुत कृषकहरू धान रोपाइमा जुटेका छन् । बोरिङ, नहर, खोलानाला, नदीको पानीको भरमा कृषकहरू रोपाइमा सक्रिय छन् । तर, लामो खडेरीले पानीको मुहानै सुख्न थालेपछि कृषकहरू चिन्तित बनेका छन् । कैलारी गाउँपालिका–८ दक्षिण टेढीका स्थानीय कृषक सुन्दरलाल चौधरीले धान रोपाइ गर्ने क्रममा बोरिङ सुकेको बताए ।

बोरिङ सुकेपछि रोपाइ नै प्रभावित भएको कृषक चौधरीले बताए । ‘२÷३ कठ्ठामा रोपाइ गर्न पम्पसेटले बोरिङबाट पानी तान्यो । पछि त पानी तान्नै छोड्यो । उखेलेको बियाड सुक्न थाल्यो,’ उनले भने । भूमीगत जलस्रोतजस्तै नदी नाला पनि सुक्न थालेका छन् । लामो सुख्खाले उसैपनि कम बग्ने नदी नालामा कृषकले धान रोपाइको लागि पम्पसेटले पानी तान्न थालेपछि सुक्न थालेका हुन् ।

कैलालीको घुराहा, कटैनी, खुटियालगायत नदी नाला सुक्न थालेका हुन् । धनगढी उपमहानगरपालिका–१६ का स्थानीय प्रकाश चौधरीले १ साता यता घुरही नदीमा दैनिक दर्जनौं पम्पसेटले कृषकहरू पानी तान्न थालेपछि मुहानै सुकेको जानकारी दिए ।

यसैबीच, कृषकले रोपाइ गरेको धान सुख्न थालेको छ । सिँचाइ सुविधा नहुँदा धान रोपिएको खेतमा दरार फाट्नुसँगै रोपिएको धान सुक्न थालेको हो । जुनकारण रोपिएको बीउ पुनः पम्पसेटको मद्दतले सिँचाइ गर्नु परेपछि कृषकलाई हैरानी भएको छ । कैलारी गाउँपालिका–६ का कृषक पहलमान चौधरीले समयमा पानी नपर्दा दोस्रो पटक करीब १ विगाहाभन्दा बढी जमिनमा रोपिएको धान सिँचाइ गरेको बताए । जुनकारण धान रोपाइ निकै नै खर्चिलो भएको उनको भनाई छ ।

बोरिङको भरले रोपाइ शुरूवात गरेका उनी भन्छन्, ‘खेतीपातीले उभो नलाग्ने भो । डिजेलको मूल्य बढेको बढ्यै छ । खेतीमा गरेको लगानी सुख्खाले सखापै पर्लाजस्तो छ ।’ उत्पादन राम्रो हुने आशमा जेठ अन्तिमबाटै धमाधम रोपाइ शुरू गरेका कैलालीका किसान यतिखेर पुर्पुरोमा हात राख्न थालेका छन् ।

मनसुन लाग्ने बेलामा खडेरी परेपछि धान उत्पादन नहुने भन्दै किसान चिन्तित भएका हुन् । उनीहरूले मध्य असार लाग्दासमेत पर्याप्त पानी नपर्दा धान खेती प्रभावित हुन थालेको बताएका छन् । लामो समय यस्तै सुख्खा भएमा भोकमरी हुन सक्ने सम्भावनाले किसानलाई सताउन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्