०९ असार २०८३, मंगलबार

सिंहदरबारअघिको सडकमा वर्षौंदेखिका खाल्टाखुल्टी बल्ल पुरिए

सिंहदरबारअघिको सडकमा वर्षौंदेखिका खाल्टाखुल्टी बल्ल पुरिए

काठमाडौँ, ११ असार मुलुकको प्रमुख प्रशासनिकस्थल सिंहदरबारअघिको सडकमा वर्षौंदेखिका खाल्टाखुल्टी नेपाल टेलिकमको अग्रसरतामा पुरिएका छन् । 

राससले गत जेठ २५ गते दर्जन सरकारी संस्थाको केन्द्रीय कार्यालय रहेको भद्रकाली–सिंहदरबार जोडिने ४६५ मिटर लामो सडकको दूरावस्थाबारे समाचार र तस्वीर सार्वजनिक गरेको थियो । 

समाचार र तस्वीर विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन एवं प्रसारण भएपछि सामाजिक सञ्जालमा समेत फैलिएको थियो । सामाजिक सञ्जालमा बढी नाफा कमाउने टेलिकमले आफ्नै केन्द्रीय कार्यालयअघिको सडक बनाउन नसकेको भनी टिप्पणीसमेत भएको थियो । 

यस्तो टिप्पणी भएपछि टेलिकमले सडकको खाल्टाखुल्टी टालेको हो । टालिएका खाल्टाखुल्टी ठूलो पानी परेपछि पुरानै अवस्थामा फर्कने स्थिति छ । यहाँ कार्यरत कर्मचारी तथा सेवाग्राही लामो समयदेखि प्रभावित हुँदैआएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारी सडकको स्तरोन्नति एवं कालोपत्रकै लागि पहल भइरहेको बताउनुहुन्छ । 

“संघीय संरचनाअनुसार तीन तहको सरकारमध्ये कसले यो सडक हेर्छ भनी खोजी गरिरहेका छौँ, सडकलाई व्यवस्थित बनाउन यहाँ बनाइएका झुपडी हटाइएको छ, थप व्यवस्थित बनाउन पहल गर्छौं”, उहाँले भन्नुभयो । 

युएनआई शान्ति मार्ग नाम दिइएको उक्त सडक निर्माण, दायाँबायाँ हरियाली र दुईवटा कुनामा उद्यान बनाउने योजना बनेको सात वर्ष नाघेपनि कार्यान्वयनमा आउन सकेको छैन । नेपाल टेलिकम, खाद्य संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन व्यापार महाशाखा, नेपाल स्टक एक्स्चेञ्ज, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्थान, कृषि विकास बैंकलगायत सरकारी कार्यालयको केन्द्रीय कार्यालय यही सडकको किनारमा पर्छन् । 

सयौँ कर्मचारी तथा हजारौँ सेवाग्राहीले दैनिक यो सडक प्रयोग गर्दैआएका छन् । सडक निर्माणका लागि भने कसैको ध्यान जान सकेको थिएन । वाणिज्य बैंकबाट नेपाली सेनाको मुख्यालय र भद्रकाली मन्दिर एवं शहीदगेटतिर जाने पैदल यात्रुले पनि यो मार्गको प्रयोग गर्छन् । आगामी आर्थिक वर्षमा सडक कालोपत्र गर्न पहल गर्ने टेलिकमले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्