१० असार २०८३, बुधबार

पहिरोका कारण बन्द भएको ११ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

पहिरोका कारण बन्द भएको ११ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन, १२ असार– नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ । 

बिहान ५ः२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । 

ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । पहिरो पन्छाउन बिहान ८ः३० बजेबाट दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो । मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ । 

सो ठाउँमा गतवर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो । त्यसपश्चात् पुनःआज बिहान पहिरो खसेको हो । 

दुई दिनदेखि सो सडकखण्डका ठाउँठाउँमा सानातिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो । बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्