१२ साउन २०८३, मंगलबार

मुख्य समाचार : 'ठूला माछा' नभेट्दै सुनकाण्डको छानबिन सक्ने तयारी, सांसदलाई प्रधानमन्त्रीको ब्रिफिङ

मुख्य समाचार : 'ठूला माछा' नभेट्दै सुनकाण्डको छानबिन सक्ने तयारी, सांसदलाई प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौं, १३ असार – गृहमन्त्रायका सह–सचिव इश्वर पौडेल नेतृत्वको उच्चस्तरीय समितिले सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । चैत २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार गठन भएको समितिले असार मसान्तसम्म सरकारलार्इ अन्तिम प्रतिवेदन बुझाउने गरी अनुसन्धान प्रक्रियालाई निष्कर्षतर्फ पुर्‍याउन लागेको हो । 

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपत्ता पारिएको भनिएको तस्करीको साढे ३३ किलो सुनका भरिया भनिएका मोरङका सनम शाक्यको हत्या भएपछि सरकारले सुन तस्करी र सनमको हत्याबारे छानबिन गर्न समिति गठन गरेको थियो । 

समिति गठन भएपछि प्रहरीका बहालबाला उच्च अधिकारीसहित व्यवसायी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । 

मोरङ जिल्ला अदालतको थुनछेक बहसपछि सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गाेरेसहित ३१ जना प्रतिवादी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा दर्ता भएकामध्ये ३० जना प्रतिवादी अझै फरार छन् । सुन तस्करी प्रकरणमा गोरेका सहयोगी भनिएका जग्गा व्यवसायी राम तिवारी, काठमाडौंमा घरजग्गा व्यवसाय गर्ने भारतीय नागरिक बिमल पोद्दार र रेस्टुरेन्ट व्यवसायमा संलग्न भनिएका अकबर साहसहितका नयाँ व्यक्ति पनि पक्राउ परेका छन् । 

पक्राउ परेका सबै व्यक्ति सुन तस्करीमा संलग्न रहेको प्रमाण फेला परेको समितिको दाबी छ । 

गृह मन्त्रालयको छानबिन समितिले सुन तस्करीमा संलग्न उच्च व्यक्ति (ठूला माछा) पक्राउ पर्ने भनेर प्रचार गरेको धेरै भइसकेको छ । गृहमन्त्री स्वयंले समेत सुन तस्करीका ठूला माछा छिट्टै पक्राउ पर्ने घोषणा गरेका थिए । 

तर समिति स्रोतका अनुसार तस्करीका ‘ठूला माछा’को पहिचान नै हुन सकेको छैन । ‘कसलाई ठूला माछा भन्ने विषय नै यकिन भइसकेको छैन,’ गृह मन्त्रालयको छानबिन समितिका एक सदस्य भन्छन्, ‘अहिलेको सन्दर्भमा मोहनकुमार अग्रवाल ठूला लगानीकर्ता भएकाले ठूला माछा भन्न सकिएला । सुन तस्करीमा संलग्न अग्रवालभन्दा माथिल्लो तहका व्यक्तिबारे भरपर्दो तथ्य फेला परेको छैन ।’

पछिल्लो समय पक्राउ परेका पोद्दारबाट केही महत्वपूर्ण सूचना पाइने समितिको आश छ । तर उनले बयानमा सुन तस्करीबारे तथ्यगत कुराहरु बोल्ने मानेका छैनन् । 

पूरा समाचार यहाँबाट पढ्नुहोस् : ‘ठूला माछा’ नसमात्दै सुन काण्डको अनुसन्धान सक्ने तयारी : राजनीतिक कनेक्सन भेटिएन

सांसदलाई प्रधानमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको छ दिने राजकीय भ्रमणबारे संसदलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल भएको जिकिर गर्नुभयो । साथै उहाँले छिमेकी मुलुक भारत र चीनको भ्रमणपछि छिमेक सम्बन्धमा सुधार आएको बताउनुभयो । नेपालले अब कहिले यता ढल्किने कहिले उता ढल्किने नगर्ने उहाँले स्पष्ट पार्नुभयो । 

दुवै छिमेकीसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न चाहेको उहाँको भनाइ छ ।

प्रचण्ड एकसाता सिंगापुरमै

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिताको उपचारका क्रममा अझै १ हप्ता सिंगापुरमै बस्ने भएका छन् । 

पत्नी सिता दाहालको उपचारका लागि प्रचण्ड असार पहिलो हप्ता सिंगापुर गएका थिए । बुबासँगै सिंगापुर गएकी प्रचण्डकी छोरी गंगा दाहालले मंगलबार स्वदेश फर्किएपछि फेसबुकमा स्टेटस लेख्दै आमाको स्वास्थ्यमा सुधार आएको जानकारी गराएकी छन् । 

‘ममीको उपचारका लागि सिंगापुर पुगेर नेपाल फर्किएको छु । वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्ने सल्लाह अनुसार अझै १ हप्ता त्यही बसेर उपचार गर्ने र अहिले ममीको स्वास्थ्यमा निकै सुधार आएको छ,’ उनले लेखेकी छन्, ‘देशको राजनीति र व्यस्तताका बाबजुद पनि ममीको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै १ हप्तापछि नेपाल फर्कनु हुनेछ ।’

संविधान कार्यान्वयनका लागि ७३ कानून निर्माण

नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानूनमध्ये कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७३ वटा कानून निर्माण गरेको छ । 

कानूनमन्त्री शेरबहादुर तामाङ नियुक्त भएको १०० दिनको कामका बारेमा जानकारी गराउन मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० कानूनमध्ये अब ३७ कानून बनाउन बाँकी रहेको जानकारी दिइयो । 

कानूनमन्त्री तामाङले संविधान कार्यान्वयन गर्न आवश्यक विभिन्न विषयगत ११० कानूनमध्ये ३७ वटा कानून मात्र बनाउन बाँकी रहेको जानकारी दिए । उनले भने– “असार मसान्तसम्म निर्माण हुन बाँकी कानूनको अन्तिम मस्यौदा ल्याउन सम्बन्धित निकायमा भनिएको छ, मौलिक हकका कानून आगामी असोज २ गते रातिसम्म बनाइक्ने तयारी छ ।”

प्रधानमन्त्रीले सांसद र कार्यकर्तासँग नियमित भेटघाट गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रूपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्नुहुने भएको छ । 

साप्ताहिक रूपमा हरेक शुक्रबार उहाँले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उहाँका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नेकपाका संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग पनि भेटघाट गर्नुहुनेछ । 

जेष्ठ नागरिकलाई पाँच वर्षभित्र ५ हजार भत्ता !

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको बताएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले सो मन्त्रालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताइन् ।

मन्त्री थापाले आगामी पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पूर्व प्रतिबद्धताअनुसार नै मासिक रु पाँच हजार ज्येष्ठ नागरिक सुरक्षा भत्ता उपलब्ध गराइने स्पष्ट पार्दै भृकुटीमण्डपस्थित मन्त्रालय मातहतका कार्यालयको व्यवस्थापनमा जोड दिइएको र त्यसका लागि कानूनी तथा नीतिगत व्यवस्था गर्न लागिएको बताइन् ।

प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम’ संचालन हुने 

सरकारले प्रदेश तहमा ‘प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम’ संचालन गर्ने भएको छ । संघीय संरचनाअनुसार प्रदेश तहमा पनि जनप्रतिनिधि र सर्वसाधारणको क्षमता विकास गर्न सरकारले यो कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

यसअघि ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम स्थानीय निकायमा मात्र संचालनमा थियो । संघीय संरचनाअनुसार प्रदेश तहमा पनि ‘प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम’ संचालन गर्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

न्यायालयमा जनशक्ति अभाव

कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । न्यायपरिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिद्वारा मंगलवार राजधानीमा आयोजित ‘न्याय सेवामा जनशक्तिको आपूर्ति, वृत्ति विकासको अवस्था’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “न्यायलयमा पर्याप्त जनशक्ति नहुँदा सोचअनुरुप काम हुन सकेको छैन । ” 
कामु प्रधानन्यायाधीश जोशीले न्याय सेवामा जनशक्ति वृद्धि गर्न दशजोड दुईमा कानून विषय अध्यापन शुरु भएको हुँदा केही आशाको किरण जगाएपनि न्याय सेवामा टिकाइरहने अवस्था भए नभएको अध्ययन गर्न जरुरी छ, बताउनुभयो ।

बाग्लुङमा बाढी, पहिरोबाट जनधनको ठूलो क्षति

गएरातिको भिषण वर्षापछि आएको बाढी पहिराले बागलुङ जिल्लामा जनधनको ठूलो क्षति भएको छ । पहिरोबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । पहिरोमा परी बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट, लुरुङ गाउँका ४० वर्षीया विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको पहिरोमा परी उनीहरूको ज्यान गएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए ।


नारायणगढ–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

नारायणगढ–¬मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा मंगलवारदेखि एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन् । उनका अनुसार त्यसबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुनेछ । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।

यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ ।

salt training

कमेन्ट गर्नुहोस्