
सुर्खेत, १८ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीले माग पूरा नभएको बताउँदै भोलि मंगलबारदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
इन्जिनियरिङ्ग संघर्ष समितिले गत असार ५ गते स्वायत्त संकाय हुनुपर्ने, पठनपाठनका आधारभूत माग पूरा गर्नुपर्नेजस्ता माग राखेका थिए । विद्यार्थीले गरिरहेको शान्तिपूर्ण आन्दोलनले प्रशासनलाई केही प्रभाव पार्न नसकेपछि विद्यार्थीले भोलि मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका छन् भने साँझ ४ बजेदेखि आमरण अनशन बस्ने बताएका छन् ।
संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असार २० गतेदेखि विश्वविद्यालयको नाममा रहेका सबै सवारीसाधन ठप्प पार्ने र विश्वविद्यालयको सम्पूर्ण प्रशासन बन्द गर्ने आन्दोलनका कार्यक्रममा उल्लेख छ । विश्वविद्यालय प्रशासनले आफूहरूका माग सम्बोधन नगरेमा भैपरी आउने क्षतिको जिम्मेवारी विश्वविद्यालयका पदाधिकारीले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।