०९ असार २०८३, मंगलबार

पर्दाको ‘दर्पण छायाँ’ जोडी

कात्तिक २०, २०७४
 पर्दाको ‘दर्पण छायाँ’ जोडी
काठमाडौं, ३ फागुन – बाह्र वर्षअघि बनेको प्रेमिल चलचित्र ‘दर्पण छायाँ’मा दिलीप रायमाझी, उत्तम प्रधान र निरुता सिंह चलचित्रको पर्दामा प्रेमी बनेर उदाएका थिए । त्यस माहोललाई फेरि अर्कोपटक निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ बनाएर प्रणय भावनामा प्रस्तुत गर्दैैछन् ।

बाह्र वर्षपछि खोला पनि फर्किन्छ भन्छन् । खारिएका फिल्म निर्देशक घिमिरे पनि प्रेमको नयाँ कथा लिएर फर्केका छन् । उनको नयाँ फिल्ममा नयाँ पुस्ताका कलाकार प्रेमी बनेर आउँदैछन् । ती युवाकलाकार हुन् – पुष्पल, सहारा र श्रद्धा ।

फागुन २७ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा यी तीन फिल्मी प्रेमी अहिले भने भ्यालेन्टाइन मौसममा रमाएका छन् । पुष्पल र श्रद्धा भ्यालेन्टाइनको फोटोशूटमा व्यस्त छन् । चलचित्रको पर्दामा सार्वजनिक हुने पूर्वसन्ध्यामा त्रिकोणात्मक प्रेमकथाका तीनै पात्र भने एकैठाउँ हुन सकेका छैनन् । ‘दर्पण छायाँ’ की एक कलाकार सहारा अमेरिकामा छिन् ।

चलचित्रले उनीहरूलाई राम्रो साथी मात्र बनाएन, दर्शकमाझ चिनिने अवसर पनि दियो । सयौं म्युजिक भिडियोमा अभिनय गरेका पुष्पललाई निर्देशक तुलसी घिमिरेले पत्याए । यसभन्दा अघि चलचित्र ‘अझै पनि’ मा अभिनय गरेपनि उनलाई ‘दर्पण छायाँ २’ ले राम्रै मिडिया हाइप दियो ।

‘दर्पण छायाँ २’ की नायिका श्रद्धा प्रसाईं पनि आफूले अभिनयका लागि राम्रो मञ्च पाएको बताउँछिन् । उनी मुस्कुराउँदै भन्छिन्, ‘मलाई अरूले राम्रो गर्न सक्दिनस् भन्दा अझ राम्रो काम गरेर देखाऊँ भन्ने हुन्थ्यो । यस चलचित्रमा मैले आफ्नो काम देखाउने मौका पाएकी छु ।’

पुष्पललाई पनि आफ्नो अभिनय आकांक्षालाई कसरी प्रस्तुत गरौं भन्ने लागिरहेको थियो । ‘केही चलचित्रबाट अफर आएपनि काम गर्ने मौका जुरेको थिएन,’ पुष्पल सुनाउँछन् ।

निर्देशक घिमिरेले गीतको भिडियो हेरेकै आधारमा पुष्पललाई चलचित्रको मुख्य भूमिकाको जिम्मा दिएका थिए । शायद घिमिरेले पुष्पलमा जोखिमभन्दा बढी सम्भावना देखे । जोश देखे ।

‘चलचित्रमा भूमिकाको बारेमा मलाई उहाँले केही भन्नुभएको थिएन । शुरुमा त बोलाउँदै, फर्काउँदै पनि गर्नुभयो । तुलसी सरले तीन दिनपछि बल्ल भूमिका तिम्रो भयो भनी बताउनुभएको थियो,’ पुष्पल थप्छन्, ‘चलचित्रमा डेब्यु राम्रो ब्यानरबाट गरौं भन्ने सोच थियो ।’

उनी चलचित्र ‘दर्पण छायाँ २’ मा आफूले राम्रो अभिनय गरेको बताउँछन् । ‘उत्सुक पनि छु । डराएको पनि छु । यो चलचित्रले मेरो करीयरलाई पनि पक्कै अघि बढाउला,’ उनी भन्छन् ।

शूटिङको दौरानमा थुप्रै रमाइला क्षण पनि थिए भन्छन् पुष्पल र श्रद्धा । शूटिङका रमाइला सम्झनालाई उनीहरूले पहिलो अनुभवस्वरूप स्मरणमा राखेका छन् ।

पुष्पल स्मरण गर्छन्, ‘तुलसी सरले एउटा सीन दिँदै भन्नुभयो – ‘कल्पना गर कि तिमी ४० हजार दर्शकको अगाडि प्रस्तुति दिँदैछौ ।’ अनि मैले प्रस्तुति दिनुपर्ने थियो । तुलसी सरले दुई पेजको डाइलग थमाइदिएपछि झनै नर्भस भएँ ।’

उनी मुस्कुराउँदै सुनाउँछन् – ‘त्यो सिन गर्दा धेरै टेक पनि लिनुप–यो । गाली पनि खुब खाएँ ।’

काम बिगारे गाली पाइने, राम्रो गरे स्याबासी पाइने । यही त हो सिकाइको अनुभव । गालीले उनको कहिल्यै मन दुखेन । सधैं रमाइलो लागिरह्यो । यसमा सही थप्छिन् श्रद्धा ।

‘अरूले गल्ती औंल्याइदिनु त राम्रो हो नि,’ हो मा हो थप्छन् दुवै ।

‘सेटमा सबैभन्दा धेरै गाली खाने त म थिएँ होला,’ श्रद्धाले लामो हाँसो हाँस्दै भनिन् ।

‘किन नि ?’ लोकान्तरको यो प्रश्नमा पुष्पल बोल्छन्, ‘जतिखेर पनि स्न्यापच्याट चलाउने अनि बानी सेल्फी खिच्ने यिनको बानी थियो के । शूटिङकै बेलामा पनि स्न्यापच्याट चलाइहाल्ने,’ हाँस्दै थप्छन् उनी ।

‘हो नि त,’ श्रद्धाले झरेका कपाल कानपछाडि घुसार्दै फेरि हाँसो फैलाइन् ।

जीवनको पहिलो अनुभव उनीहरूका लागि सुन्दर बनेको छ । चलचित्र रिलिज हुनुअघि नै चर्चामा आएको ‘दर्पण छायाँ जोडी’ चलचित्रको प्रतिक्रिया कस्तो आउला भन्नेमा उत्साही र नर्भस छन् ।

उनीहरू भन्छन्, ‘यो एउटा म्युजिकल फिल्म हो । त्रिकोणात्मक प्रेमकथालाई फिल्ममा कथावस्तु बनाइएको छ । दर्शकहरूले पक्कै मन पराउनुहुन्छ होला ।’

salt training

कमेन्ट गर्नुहोस्