०७ असार २०८३, आइतबार

जापानमा फाँसी दिइएका धार्मिक गुरु असाहारा को थिए ?

जापानमा फाँसी दिइएका धार्मिक गुरु असाहारा को थिए ?

काठमाडौं, २२ असार – ओम शिनरिक्यो नामक धार्मिक सम्प्रदायका नेता शोको असाहारालाई शुक्रवार फाँसीको सजाय दिइएको छ । 

हजारौं अनुयायी भएका यी धार्मिक नेताले जापानको सबभन्दा भयानक आतंकवादी आक्रमणको योजना बनाएका थिए । 

सन् १९९५ मा टोकियोको भूमिगत ट्रेन स्टेसनमा सरिन नामक विषाक्त वायु आक्रमण गरेर १३ जनाको हत्या र हजारौं मानिसलाई अपांग बनाएको आरोपमा उनलाई सन् २००४ मा फाँसीको सजाय सुनाइएको थियो । 

जापानमा घरेलु आतंकवादको यो सबभन्दा भयानक घटना मानिन्छ । 

प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले शोकोलाई शुक्रवार बिहान फाँसी दिइएको पुष्टि गरेका छन् । जापानी सञ्चारमाध्यका अनुसार, ओम शिनरिक्योका अन्य ६ सदस्यलाई पनि फाँसी दिइएको छ । 

सबै अभियुक्तहरूको अन्तिम अपीलको सुनुवाइ पूरा नहुन्जेल फाँसीको सजाय रोकिएको थियो । 

शोकोको वास्तविक नाम चिजुओ माचुमोतो हो । सन् १९५५ मा क्युशु टापुमा उनी जन्मेका थिए । 

शुरूमा उनी योग शिक्षक थिए र सानै उमेरमा उनी अन्धा भएका थिए । 

सन् १९८० मा हिन्दू र बौद्ध मान्यताहरूको मिश्रण गरेर उनले ओम शिनरिक्यो नामक धार्मिक सम्प्रदाय शुरू गरेका थिए । पछि संसारको सर्वनाश हुने भविष्यवाणी गर्ने ईसाई विचार यसमा संलग्न भयो । ओम शिनरिक्योको शाब्दिक अर्थ सर्वोच्च सत्य हुन्छ । 

शोकोले आफैंलाई दोस्रो बुद्ध घोषणा गरेका थिए । 

सन् १९८९ मा यो समूहले धार्मिक संस्थाको औपचारिक मान्यता पायो । आफ्नो लोकप्रियता चुलीमा पुग्दा असाहाराका दशौं हजार अनुयायी थिए । 

समूहले पछि समग्र संसारको अन्त्य हुन लागेको र उनीहरूको सम्प्रदायका मानिस मात्र बाँच्ने बताउन थालेको थियो । 

सन् १९९५ मा नर्भ आक्रमणपछि सम्प्रदाय भूमिगत भएको थियो । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्