
काठमाडौं, २२ असार – दिल्लीको सन्तनगरस्थित घरमा ११ जनाको सामूहिक आत्महत्याका विषयमा अर्को खुलासा भएको छ ।
परिवारका मुख्य व्यक्ति ललितले आफ्ना पिताका साथसाथै परिवारका सात अन्य सदस्यको आत्मालाई मोक्ष दिलाउन चाहेका थिए ।
रजिस्टरको एक नोटमा यसको उल्लेख गरिएको छ । ललितले दिवंगत पिताद्वारा सपनामा दिएका निर्देशलाई रजिस्टारमा लेख्ने गरेको र त्यसको पालन गर्ने गरेको खुलेको छ ।
ललितले रजिस्टरमा सन् २०१५ को जुलाई ९ मा लेखे, ‘क्रियाको गतिमा सुधार ल्याऊ, भड्किरहेका छौ । सबै एक छतमुनि मेलमिलाप गरेर यसलाई सुधार । सबै सात आत्मा मसँगै भड्किरहेका छन् । उनीहरू पनि सही कर्म गरेर जीवन सफल बनाओ भनिरहेका छन् । हाम्रो काम पूरा भएपछि हामी फर्किन्छौं ।’
रजिस्टरमा लेखिएअनुसार यसका लागि ललितले शनिवारको मध्यरातमा एक कपमा पानी पनि राखेका थिए । कपमा भएको पानीको रंग बदलिँदै जाँदा सदस्यहरूले मोक्ष पाउने रजिस्टरमा लेखिएको थियो ।
प्रहरीको अपराध अनुसन्धान शाखाले ललितको घरमा ११ रजिस्टर भेटेको थिया । त्यसमा चारजनाको लेखाइ देखिन्छ । धेरैजसो कुरा ललितकी भान्जी प्रियंकाले लेखेकी हुन् । प्रहरीले हस्ताक्षरविज्ञको सहायताले अन्य लेखाइसँग मिल्ने नमिल्ने हेरिरहेको छ ।
प्रहरी कमिस्नर आलोक कुमारले बताएअनुसार रजिस्टरमा लेखिएको कुराका बारेमा मनोचिकित्सकहरूसँग पनि सल्लाह लिइनेछ । परिवारका सदस्यको मनस्थिति कुन स्तरमा पुगेको थियो भनी प्रहरी जान्न खोज्दैछ ।
ललित र भूपीका छोरा ध्रुव र शिवमको हातमा गहिरो घाउ भेटिएको छ । यी दुवैले साधनाको विरोध गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरूको हात जबर्जस्ती बाँधिएको हुनसक्छ ।
क्राइम ब्रान्चको टोलीले बिहीवार मृतक परिवारका आठ नातेदारसँग सोधपुछ गर्नका लागि नोटिस जारी गरेको छ । उनीहरूसँग ललितको मनोदशाका बारेमा सोधिनेछ ।
अनि ६० मानिसको पनि सूची बनाइएको छ जो व्यापारको सिलसिलामा प्रायः ललितसँग मोबाइलमा सम्पर्कमा रहन्थे । छिमेकीहरूसँग पनि घटनाअघि परिवारका सदस्यको व्यवहार सामान्य थियो कि परिवर्तन देखिन्थ्यो भनी सोधपुछ
गरिरहेको छ ।
एजेन्सी