
पर्वत, २४ असार- कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ ।
थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको हो ।
धान कुट्न, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्नका लागि प्रयोगमा ल्याउन सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ ।
गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिल भने पूर्णरुपमा विस्थापित भएका छन् । घरको पिँढीमै राखेर कुटनीपिसानी गर्न सकिने उक्त मिल यस वर्ष महाशीलाले १२ वटा वितरण गरेको छ ।
अहिले उक्त मिलको बजार मूल्य प्रतिगोटा रु ३८ हजार रहेकामा ढुवानी खर्चसहित कृषकलाई रु १९ हजारमा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
उक्त गाउँपालिकाले यसअघि ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिपावरटिलर (यान्त्रिक हलो) पनि वितरण गरेको थियो । चालु आर्थिक वर्षको बजेटले गाउँपालिकाका छवटै वडाका बासिन्दा लाभान्वित हुने गरी २४ वटा मिनिपावरटिल वितरण गरेको थियो ।