काठमाडौं, २४ असार – जुलाई महिनाको अन्तिममा दक्षिण अफ्रिकामा हुने ब्रिक्स मुलुकको सम्मेलनका बेलामा चीन र भारतबीच प्रतिद्वन्द्विता देखिने सम्भावना छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी चिनफिङ दुवै सम्मेलनअघि नै पूर्वी अफ्रिकाको भ्रमण गर्दैछन् । भारत सरकारले आधिकारिक घोषणा नगरेको भएपनि सूत्रहरूका अनुसार, मोदी २५ जुलाईबाट शुरू हुने ब्रिक्स
सम्मेलनमा भाग लिनुअघि रुवान्डा र युगान्डाको भ्रमण गर्नेछन् ।
उता शी पनि रुवान्डा पुग्दैछन् । पहिलोपटक कुनै चिनियाँ राष्ट्रपति रुवान्डा यात्रा गर्दैछन् ।
दुवै देशका नेता रुवान्डामा प्रभाव देखाउन खोज्दैछन् । रुवान्डाको पुनर्निर्माणमा चीन एक महत्त्वपूर्ण साझेदार हो । अफ्रिकासँग चीनको व्यापार र त्यहाँ उसको प्रत्यक्ष विदेशी लगानी भारतको भन्दा दुई गुणा बढी छ । तर भारत पूर्वी अफ्रिकामा
सांस्कृतिक र ऐतिहासिक सम्बन्धका कारण चीनभन्दा अघि छ ।
अफ्रिकाको बजार उदीयमान रहेकाले भारत र चीन दुवैको आँखा परेको छ । अफ्रिकाले पेटी सडक परियोजनालाई स्वीकार गरिसकेकाले चीनको सरल कर्जा प्रवाह छ ।
चीनले युगान्डामा अहिलेसम्म तीन अर्ब डलरको कर्जा दिइसकेको अनि पेटी सडक परियोजनाका लागि २.३ अर्ब डलरका सम्बन्धमा कुराकानी चलिरहेको रोयटर्सले लेखेको छ । चीनले अफ्रिकामो जिबुटीमा जलसेना अड्डा बनाएको छ जसबाट
पनि उक्त क्षेत्रमा उसको रुचि झल्किन्छ ।
एजेन्सी