काठमाडौं, २४ असार – सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जूमा विकी कौशलको अभिनयलाई सबैले तारिफ गरे । फिल्ममा सञ्जयका साथी कमली अर्थात् कमलेशको भूमिकालाई विकीले राम्रोसँग निर्वाह गरेका हुन् ।
सञ्जयसँग कमलेशको बलियो मित्रता र त्यसको कथा त सबैले थाहा पाए तर असली कमलेश को हुन् र कस्ता देखिन्छन् भनी धेरैलाई चासो हुनु स्वाभाविक छ ।
फिल्ममा कमलेश भनिएपनि असली जीवनमा सञ्जयका साथीको नाम परेश गिलानी हो । उनी एक व्यापारी हुन् र अमेरिकाको लसएन्जेलसमा बस्छन् ।
परेशले हालै सञ्जू हेरे र अत्यन्तै भावुक भए । त्यसपछि उनले सञ्जयका लागि भावुक पोस्ट समेत लेखे । फिल्मले वास्तविकताका साथ सञ्जयको उत्थान, पतन र सम्हालिएको चरणलाई देखाएको उनको भनाइ छ ।
परेशले सञ्जयलाई सम्बोधन गर्दै लेखे, ‘तिमी सधैंदेखि मेरा पक्का साथी थियौ र रहनेछौ । तिमीजस्तो साथी पाउँदा जोकोहीको जीवन धन्य हुन्छ । बाघजस्तो गर्ज ।’
राजकुमार हिरानीले निर्देशन गरेको फिल्म सञ्जू दर्शकहरूले खुबै मन पराइरहेका छन् । रणवीर कपूरले सञ्जयको भूमिका निर्वाह गरेका छन् र उनको दमदार अभिनयको खुबै तारिफ भइरहेको छ । बक्स अफिसमा पनि सञ्जूले धेरै कमाइ
गरिरहेको छ ।
एजेन्सी