
काठमाडौं – जापानको एक आईटी कम्पनीले ड्रोनको सहायताले उड्ने छाता तयार पारेको छ । सेन्सर लगाएका कारण यो छाता व्यक्तिको वरिपरि घुमिरहन्छ ।
यसको तौल पाँच किलो छ र यो पाँच मिनेटसम्म उड्न सक्छ ।
दूरसञ्चार प्रणाली विकसित गर्ने कम्पनी आशी पावरले यसमा लामो समयदेखि काम गर्दै आएको थियो । कम्पनीले सन् २०२० मा हुने ओलम्पिक र प्यारालिम्पिकभन्दा अगाडि यो छातालाई व्यावहारिक उपयोगका लागि ल्याउने भएको छ ।
कम्पनीका अध्यक्ष केन्जी सुजुकीले यस किसिमको छाता दुवै हात व्यस्त हुँदा उपयोग गर्न मिल्ने बताए ।
जापानमा सिभिल एयरोनटिक्स नियमअनुसार, ड्रोनलाई सार्वजनिक स्थानहरूमा भएका व्यक्ति वा भवनभन्दा लगभग ३० मिनेटको दूरीमा मात्र उडाउनुपर्छ ।
उड्ने छाताको प्रयोग शुरूआतमा निजी संस्थानमा मात्र गरिने विश्वास गरिएको छ । प्रयोगकर्तालाई छाताले सजिलै चिन्ने प्रविधि विकसित गरिँदैछ ।
अहिले छाताको तौल बढी हुनाले लामो समय उड्न सक्दैन । व्यक्ति ढिलो हिँड्दा आफैं उससित घुम्न पनि छाताले सक्दैन । जालबाट बनेको हुनाले बर्खा हुँदाखेरी पनि छाताले पानी छेक्दैन ।
एजेन्सी