
काठमाडौं – भारतको नयाँ दिल्लीमा सन् २०१२ मा भएको कुख्यात निर्भया बलात्कार काण्डका दोषीहरूलाई दिइएको फाँसीको सजायमाथि पुनर्विचार गर्ने अपीललाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
निर्भया काण्डका चार दोषीमध्ये एक अक्षय कुमार सिंहले सर्वोच्च अदालतसमक्ष फाँसीको निर्णयमाथि पुनर्विचार गर्न दिएको निवेदन खारेज गरिएको हो ।
सन् २०१२ को १६ डिसेम्बरमा राति फिल्म हेरेर फर्किएकी २३ वर्षीया प्यारामेडिकल विद्यार्थी निर्भया (नाम परिवर्तन) माथि बसमै ६ जनाले सामूहिक बलात्कार गरेर अंगभंग गरिदिएका थिए । पछि निर्भयाको अस्पतालमा मृत्यु भएको थियो ।
दोषीहरूले निर्भया र उनका पुरुष मित्रलाई नग्न हालतमा बसबाट फ्याँकिदिएका थिए । उनीहरूले बसले कुल्चिएर मार्ने कोशिश पनि गरिएको थियो ।
यस मुद्दामा दिल्लीको सेसन्स कोर्ट र हाईकोर्टले चार दोषीहरू मुकेश, पवन गुप्ता, अक्षय ठाकुर र विनय शर्मालाई मृत्युदण्ड दिएको थियो ।
एक अभियुक्तले पुर्पक्षकै क्रममा जेलमा आत्महत्या गरेका थिए भने एक नाबालक दोषी तीन वर्षको सजाय पूरा गरेर जेलमुक्त भएका छन् ।
चारै अभियुक्तहरूले दिल्ली उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए अनि सर्वोच्चले सन् २०१७ को मे ५ मा फाँसीको सजाय सदर गरेको थियो । अहिले त्यसमाथिको पुनर्विचार निवेदनलाई पनि सर्वोच्चले
खारेज गरिदिएको हो ।
एजेन्सी