
काठमाडौं – दिल्लीको बुराडीमा एकै परिवारका ११ सदस्यको रहस्यमयी मृत्युमा हरेक दिन नयाँ रहस्य खुलिरहेका छन् । प्रहरीले भाटिया परिवारबाट ११ डायरी फेला पारिसकेको छ जसमा अनेकौं रहस्यमय कुरा लेखिएको छ ।
यसैबीच प्रहरीले परिवारका मुखिया ललितकी भान्जी प्रियंकाको निजी डायरी फेला पारेको छ जसले रहस्यलाई थप जटिल बनाएको छ । डायरीमा अन्धविश्वास वा तन्त्रमन्त्र नभई प्रेमप्रसंग परेको छ जसले केसमा नयाँ मोड दिएको छ ।
प्रियंकाको डायरीको कभर पेजमा सुन्दर केटी लेखिएको छ र यो पेज मुटुको आकारमा काटिएको छ । डायरीको शुरूमै लेखिएको छ – मैले बताउन लागेको कुराले मलाई तपाईंहरूको नजरमा गिराउन सक्छ ।
उनले एक युवकको नाम लेख्दै अब ऊ घर खाली पारेर गइसक्यो लेखेकी छन् । यसका लागि उनले मामा ललितसँग माफी पनि मागेकी छन् । उनले बिहेपछि आफ्नो घरमा राम्ररी बस्ने अनि कसैलाई गुनासो गर्ने मौका नदिने विश्वास पनि दिलाइन् ।
डायरीका अन्तिम केही पृष्ठ खाली छन् ।
प्रहरी अब डायरीमा उल्लेखित युवकको खोज गरिरहेको छ । प्रियंकाले मोक्ष प्राप्तिको विधिको बारेमा चर्चा गरे नगरेको विषयमा उक्त युवकसँग प्रहरीले सोधपुछ गर्नेछ । डायरीमा यी कुराहरू कहिले लेखिएको भनी प्रहरीले खोजी गरिरहेको
छ । यो डायरी पुरानो पनि हुनसक्छ ।
प्रहरीले भाटिया परिवारबाट प्राप्त नोटहरूमा प्रियंकाको लेखाइ पाइने पत्ता लगाएको थियो । अनुसन्धानले पत्ता लगाएअनुसार, ललितले परिवारलाई आफूभित्र पिताको आत्मा प्रवेश गर्ने गरेको र आवाज तथा शरीर काँप्ने गरेको बताउने गरेका थिए ।
यस्तो बेलामा ललितले बोल्नेसबै कुरा प्रियंकाले नै रजिस्टरमा लेख्ने गरेकी थिइन् । ललित आफ्ना पिताको आवाजमा पूजापाठ, धार्मिक अनुष्ठान, परिवारका मानिसको दिनचर्या र सजायसम्बन्धी निर्देशन दिन्थे ।
कुनै कारणवश प्रियंका घरमा नहुँदा ललितकी पत्नी टिनाले रजिस्टरमा लेख्थिन् ।
एजेन्सी