काठमाडौं – पाकिस्तानको पेशावरमा मंगलवार राति एक चुनावी भेलामा भएको आत्मघाती विस्फोटमा अवामी नेसनल पार्टीका नेता हारून बिल्लौर सहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
याकातूत इलाकामा भएको यो विस्फोटनमा घाइते भएका मानिसलाई लेडी रीडिङ अस्पताल लगियो । घटनामा ६५ मानिस घाइते भएका छन् ।
बिल्लौर र एएनपीका कार्यकर्ताहरू एक चुनावी –यालीका लागि भेला हुँदा विस्फोट भएको थियो । बिल्लौर मञ्चमा पुग्दा पटाका पड्काइएको थियो अनि त्यतिखेरै एक आत्मघाती आक्रमणकारीले आफैंलाई पड्काए ।
डन पत्रिकाका अनुसार, विस्फोटमा बिल्लौर गम्भीर रूपमा घाइते भए । उनलाई अस्पताल पु–याएपछि उनको मृत्यु भयो । घटनाको अनुसन्धान शुरू गरिएको छ ।
बिल्लौरका पिता एवं एएनपीका वरिष्ठ नेता बशीर अहमद बिल्लौर पनि सन् २०१२ मा तालिबानी आक्रमणकारीको आत्मघाती हमलामा मारिएका थिए ।
आक्रमणलाई निन्दा गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानले राजनीतिक दल र उनीहरूका उम्मेदवारका लागि चुनावी अभियानका बेलामा सुरक्षाको माग गरेका छन् । अहिलेसम्म कुनै आतंकवादी संगठनले
आक्रमणको जिम्मेवारी लिएको छैन ।
एजेन्सी