काठमाडौं – थाइल्यान्डको गुफामा फसेका अन्डर १६ फूटबल खेलाडीलाई बचाउनका लागि चलाइएको अभियानसम्बन्धी भिडियो फूटेज जारी गरिएको छ ।
भिडियोमा गोताखोरहरू गुफामा फसेका किशोरहरूलाई बाहिर ल्याइएको भिडियोमा देखिन्छ । थाइ नेभी सीलको फेसबूक पेजमा जारी यो भिडियोमा वेटसुट लगाएका उद्धारकर्मीले स्ट्रेचरको सहायताले गुफामा फसेका किशोरलाई निकालेका हुन् ।
थाइल्यान्डको मेडिकल टीमले बताएअनुसार, १२ किशोर र उनीहरूका प्रशिक्षकको तौल दुई किलोसम्म घटेको छ । तर उनीहरू सबैको स्वास्थ्य ठीक छ ।
उद्धारकर्मीहरूमा थाइ र विदेशीहरू पनि छन् । उनीहरू गुफामा फसेका किशोरलाई सुरक्षित निकाल्नका लागि डोरी र रबरको पाइपका साथै अन्य उद्धार उपकरणको उपयोग गरेको देखिन्छन् ।
मेडिकल टीमका एक सदस्यले पत्रकार सम्मेलनमा भने, ‘केही किशोरहरूलाई निमोनिया भएको छ तर कसैलाई पनि गम्भीर समस्या छैन ।’
उद्धार अभियान मंगलवार अन्तिम चार बच्चालाई बाहिर निकालेपछि पूरा भयो ।
फूटबल टीम वाइल्ड बोअर्सका पाँच सदस्यमा हाइपोथर्मियाको लक्षण पाइयो किनकि उनीहरू गुफामा १८ दिनसम्म कठिन परिस्थिति र चिसो तापक्रममा बस्नुपरेको थियो ।
फसेका किशोरहरूलाई असार २४ देखि २६ सम्म तीन अलग अलग समूहमा गुफाबाट बाहिर निकालियो ।
किशोरहरू र उनीहरूका प्रशिक्षकलाई गुफाबाट सुरक्षित बाहिर ल्याइँदा थाइल्यान्डमा खुशी छाएको छ ।
किशोरहरूलाई भिटामिन सप्लिमेन्टका साथै चामल र चिकनको हलुका भोजन दिइएको छ । किशोर र प्रशिक्षकको उत्साह कायम छ र अस्पतालबाट निस्कनुअघि उनीहरू कम्तीमा एक हप्ता स्वास्थ्य निगरानीमा रहनेछन् ।
एजेन्सी