
भक्तपुर– बुधबारदेखि परेको वर्षाका कारण सडक जलमग्न हुँदा भक्तपुर र काभ्रेमा यातायात प्रभावित भएको छ ।
वर्षापछि आएको बाढीले केहि स्थानमा सडक जलमग्न भएका छन् भने केहि स्थानमा खोलामा आएको बाढीले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।
सडकमा पानी भरिएकाले साना सवारीका साधन आवतजावतमा समस्या भएको छ ।
सडक जलमग्न हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको छ । महानगरिय ट्राफिकका अनुसार सडक विभागसँग समन्वय गरेर यातायात सहज बनाउने प्रयास भइरहेको छ ।
खासगरी दुई पांग्रे सवारी साधनलाई समस्या भएको छ । भक्तपुरको थिमि क्षेत्र डुबानमा परेको छ । बाढीको पानी सडकमै उर्लिँदा यातायात आवतजावतसमेत प्रभावित भएको हाे ।
डुबानका कारण राधेराधे क्षेत्रको जनजीवन कष्टकर बनेको छ । यस्तै गोरेखोलामा आएको बाढीले सडकअवरुद्ध भएको छ । उता हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही लगायत स्थानका बस्ती पनि डुबानमा परेका छन् ।
यसैगरी काभ्रेको बनेपामा पनि बाढीका कारण यातायात प्रभावित भएको छ । यातायात प्रभावित हुँदा यात्रु समस्यामा परेका छन् ।