
भक्तपुर–बुधवार राति छोटो अवधिमा धेरै पानी पर्दा काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीन कुमार अर्यालले छोटो समयमा धेरै मात्रामा पानी परेकोले खोलामा पानीको बहाव बढेको र पानी जमेका कारण भक्तपुर क्षेत्र डुवानमा परेको बताए ।
त्रिभुवन विमानस्थलमा रहेको जलवर्षा मापन केन्द्रका अनुसार गएराति १० बजेदेखि बिहान ४ बजेसम्ममा ९३ दशमलव ६ मिलिमिटर पानी परेको छ । यसअघि सन् २००२ मा ११७ मिलिमिटर पानी परेको थियो ।
विमानस्थल भन्दा भक्तपुर क्षेत्रमा बढी पानी परेको हुनसक्ने उनले बताए । ‘ सानो पानी परेको भए खोलामा एकै पटक बाढी आएर डुवानको समस्या देखिने थिएन, तर छोटो समयमा ठूलो वर्षा भएका कारण बाढी आयो’ अर्यालले लोकान्तरसंग भने ।
अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि वडा नं १ लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित डा युवामुरा अस्पताल, मध्यपुरथिमिस्थित मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएको छ ।
खस्याङखुसुङ खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् ।
मौसम पूर्वामनुमान महाशाखाका अनुसार शुक्रवार दिउसो मध्य र पश्चिमी क्षेत्रमा भारी बर्षाको सम्भावना छ ।