२१ जेठ २०८३, बिहीबार

सन्दर्भ भानु जयन्ती–खण्डहर बन्दै आदिकविको जन्मघर

असार २९, २०७५
सन्दर्भ भानु जयन्ती–खण्डहर बन्दै आदिकविको जन्मघर

आज भन्दा ठिक २०५ बर्ष अगाडि अर्थात वि.स. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा पण्डित श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यको सुपुत्रका रुपमा देवीभक्त नामका एक बालकको जन्म हुन पुगेको थियो । पछि तिनै बालक देवीको भक्त नभई रामको भक्त र नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्य आकाशमा आदिकवि भानुभक्त आचार्य बनेर उज्वल नक्षत्र बनेर चम्किन पुगे । जुन उज्वल नक्षेत्र नेपाली साहित्य आकाशमा यो धर्ती रहिञ्जेलसम्म जाज्वलयमान बनेर चम्कि रहनेछन् । 

संस्कृत भाषामा राम्रो ज्ञान हासिल गरेका भानुभक्तले १३ बर्षको कलिलो उमेरमा नै आफ्नो साहित्यिक यात्रा अगाडि बढाएको भएतापनि वि.स. १८९१ मा काम विशेषले  यात्रा गर्दे जानेक्रममा हाल व्यास नगरपालिकाको वडा नं १२ मा रहेको घाँसीकुवामा एक स्थानीय घाँसीसंग जम्काभेट हुँदा घाँसीबाट पाएको प्रेरणाका कारण काव्य रचनाबाट लोकको हित गर्ने निर्णय लिई संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने कामको थालनी गरे । जुन रचना आजको दिनसम्म आइपुग्दा प्रत्येक नेपाली र विश्वभरि छरिएर रहेका नेपाली भाषीको मुटुको ढुकढुकी  बन्न पुगेको छ ।

यसका अतिरिक्त आदिकवि भानुभक्त आचार्यले भक्तमाला, अमरकोष, प्रश्नोत्तरी, बधुशिक्षा,रामगीता लगायतका कृति तथा दर्जनौं फुटकर रचना रच्ने जुन कार्य गरे त्यसले नेपाली साहित्यको भण्डारलाई भर्ने काम गरेको छ । जुन कार्यको प्रशंसा गर्दे नेपालमा वि.स. २००९ साल देखि भानुजयन्ती मनाउन थालेको पाइन्छ । जुन कार्यलाई त्यस पछि सर्मथन जनाउँदै नेपाली शिक्षा परिषद लगायतका विभिन्न साहित्यक संस्थाहरुले त्यसपछिका बर्षहरुमा प्रत्येक बर्षको असार २९ गते भानु जयन्ती मनाउने गरेको पाइएको छ । जुनक्रम आजसम्म जारी रहेको छ । यद्यपी छिमेकी मुलुक भारतको दार्जिलिङमा भने वि.स. २००२ सालमा न भानुभक्त रात्री पाठशाला चाँमरीमा असार २९ गते देखि भानुजयन्ती मनाएको पाइन्छ ।
 

विश्व साहित्यलाईलाई एकपटक नजर लगाउने हो भने महान नाटककार शेक्सपियरको जन्मथलोलाई बेलायतबासीले साहित्यक तीर्थस्थलको रुपमा विकासको गरेको पाइन्छ । तर नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा दिनप्रति दिन खण्डहरमा परिणत हुँदै गएको छ

आजको दिनसम्म आइपुग्दा मुलुक भित्र विधिवत् रुपमा भानु जयन्ती मनाउन लागिएको ६६ बर्ष पुगिसकेको छ । यो ६६ बर्षको अवधिमा मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए । तर  भानुभक्तको जन्मथलोमा खासै परिवर्तन हुन सकिराखेको छैन । यथार्थताको धरातलमा उभिएर भन्ने हो  नेपाली भाषा साहित्यलाई आजको समृद्धशाली प्रारुपमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई भाषिक  केन्द्र र साहित्यिक केन्द्रको रुपमा विकास गरी नेपाल र विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुको ध्यान आकृष्ट गर्ने विषयमा सरकारको ध्यान पुग्नु पर्ने हो । 

सरकारले चुँदी रम्घामा हरेक बर्ष बिरालो बाँधेर श्राद्ध गरे जसरी भानुजयन्ती मनाइरहेको अवस्था छ । हुन त भानु जन्मथलोको विकासका लागि सरकारले वि.स. २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन नगरेको होइन । तर पर्याप्त मात्रामा बजेट उपलब्ध नगराउँदा सो समितिले खासै उपलब्धी मुलुक कार्यहरु गर्न सकिराखेको अवस्था छैन । जसको ज्वलन्त उदाहरणका रुपमा भानु जन्मस्थल विकास स्थापना देखि हालसम्म त्यहाँ कार्यरत कर्मचारीहरुले पाउनु पर्ने लाखौं वक्यौतालाई लिन सकिन्छ । यसो भन्दै गर्दा भानु जन्मस्थल विकास समितिमा केही सिन्को भाँच्ने काम सरकार र विभिन्न गैर सरकारी संस्थाबाट नभएको भन्ने चाहि होइन । 

भानुभक्तको घर पुनर्निर्माण देखि जन्मस्थल परिसरमा भौतिक तथा साहित्यक पक्षहरुलाई संरक्षण गर्ने विषयमा केही काम भएका थिए र अहिले पनि भईरहेका छन् । तर भएका कामको उचित संरक्षण नहुँदा भानुभक्तको पुर्ननिर्माण गरिएको घर डढेलोको कारण खरानी हुन पुग्यो भने बनेका अन्य संरचनाहरु लथालिङग अवस्थामा रहेका छन् । जसको पुर्ननिर्माणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी देखिन्छ ।
 
विश्व साहित्यलाईलाई एकपटक नजर लगाउने हो भने महान नाटककार शेक्सपियरको जन्मथलोलाई बेलायतबासीले साहित्यक तीर्थस्थलको रुपमा विकासको गरेको पाइन्छ । जहाँ अध्ययन र अवलोकनका लागि बर्षेनी लाखौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । तर नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा दिनप्रति दिन खण्डहरमा परिणत हुँदै गर्दा पनि त्यसको संरक्षणमा न राज्यको ध्यान पुग्न सकेको छ  न त जिल्लाबासी त्यसमा पनि भानुबासीको । यो अत्यन्त दुरभाग्यपूर्ण विषय हो । कामना गरौं, आगामी दिनमा सरोकारवाला सबै पक्षको यस विषयमा अवश्य ध्यान पुग्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्