
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रेक्जिटलाई लागि बेलायती प्रधानमन्त्री टेरिजा मेले अघि सारेको योजनाबाट खुला व्यापार सम्झौताको सम्भावनालाई समाप्त पर्ने बताएका छन् ।
ट्रम्पले द सन पत्रिकाको शुक्रवार संस्करणका लागि अन्तर्वार्ता दिँदै बेलायतभन्दा युरोपेली संघसँग सम्झौता गर्नु ठीक हुने बताए ।
ट्रम्प बेलायत यात्राका क्रममा बिहीवार राति बेलायत पुगेका छन् । बेलायतको राजनीतिमाथि टिप्पणी गर्दै ट्रम्पले पूर्व परराष्ट्रमन्त्री बोरिस जोनसोन महान् प्रधानमन्त्री बन्न सक्ने बताए ।
लन्डनका मेयर सादिक खानले प्रदर्शनकारीहरूलाई बच्चाको टालो लगाएको ट्रम्पको बेलून उडाउन अनुमति दिएकोलाई ट्रम्पले आलोचना गरे । उक्त बेलून बेलायती संसद्नजिक उडाउने अनुमति दिइएको थियो । खानले लन्डनको अपराध
घटाउन नसकेको ट्रम्पले टिप्पणी गरे ।
आफू भएको भए ब्रेक्जिट मामिलालाई फरक तरिकाले सम्हाल्ने ट्रम्पको भनाइ छ ।
‘मैले मेलाई ब्रेक्जिट कसरी सम्हाल्ने भनी सुझाव पनि दिएको थिएँ तर उनले मेरो कुरा सुनिनन् , उनी फरक तरिकाले हिँड्न चाहन्छिन्,’ ट्रम्पले भने ।
एजेन्सी