
काठमाडौं, ४ फागुन- प्रधानमन्त्रीमको सरकारी निवास बालुवाटारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सार्ने विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको छ । बैठकमा प्रमुख दलका विद्यार्थी संगठनका नेताहरुको उपस्थिति रहेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि केही क्याम्पसहरुका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनले तालाबन्दी गर्ने, कर्मचारीमाथि दवाव सिर्जना गर्ने जस्तो काम गरेका कारण चुनाव गर्न नसकिने क्याम्पसका प्रमुखहरुले हिजो त्रिविसँगको बैठकमा भनाइ राखेसँगै चुनाव सार्ने विषयमा छलफल जारी रहेको हो ।
फागुन १४ मा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको त्रिविले २८ वर्षे उमेरहद लगाएसँगै केही क्याम्पसहरुमा नेविसंघ, अनेरास्ववियुले विप्लव नेतृत्वको विद्यार्थीसंगठनलाई साथ दिएका छन् । जसका कारण तोकिएको समयमै निर्वाचन गर्न समस्या भएको त्रिविको बुझाई छ ।
प्रमुख राजनीतिक दलहरुले स्ववियु निर्वाचनलाई स्थानीय निर्वाचनको जनमतसंग्रहको रुपमा समेत लिएर त्यसमा होमिन यसअघि निर्देशन दिएका छन् ।