२८ असार २०८३, आइतबार

विश्वकप समापन समारोह पनि ३० मिनेटकै : गुञ्जिने छ ‘लिभ इट अप’

विश्वकप समापन समारोह पनि ३० मिनेटकै : गुञ्जिने छ ‘लिभ इट अप’
तस्वीर: रासस

काठमाडौं– विश्वकप फुटबलको फाइनल खेल आइतबार बेलुका पौने ९ बजे हुँदैछ । फ्रान्स र क्रोएसिया बीचको खेलसँगै सम्पन्न हुने २१औं संस्करणको विश्वकप फुटबलको समापन समारोह पनि छोटो हुने जनाएका छन् । 

लुझनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया उपाधिको अन्तिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रनु ३० मिनेटअघि सांगीतिक कार्यक्रम सुरु हुनेछ । यसअघि गत जुन १४ मा भएको विश्वकपको उद्घाटन समारोह मात्र ३० मिनेटको गरिएको थियो । समापन समारोह पनि ३० मिनेट सम्मको हुनेछ । 

उद्घाटनमा जस्तै समापन समारोहमा पनि नायक तथा  र्‍यापर विल स्मिथ, अमेरिकन गायक निक्की जाम र कोसोभियन गायिका इरा इस्टेरिफीले सांगीतिक प्रस्तुति दिनेछन् । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाउनेछन् ।

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका रक्षक एवं कप्तान फिलिप ल्हाम विश्वकपको ट्रफीसहित मैदानमा प्रवेश गर्नेछन् । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिनेछिन् ।

विश्वकप ट्रफीलाई विशेष सुरक्षाका साथ रुस पुर्‍याइएको हो । ल्हाम र भोदियानोभाले ट्रफी सार्वजनिक गरेपछि रुस विश्वकपको अन्तिम अर्थात् फाइनल खेल शुरु हुनेछ । 

फाइनल खेलपश्चात् मेडल र ट्रफी वितरण समारोह हुनेछ । त्यससँगै २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न हुनेछ । यसको चार वर्षपछि सन् २०२२ मा कतारले २२औं संस्करण आयोजना गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्