
काठमाडौं– चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीसँग औपचारीक वार्ता गर्न सरकारले वार्ता टोली बनाउने तयारी थालेको छ ।
उनीसँग अनौपचारिक सम्वाद भइरहेकोले अब वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी सरकारले थालेको हो । सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा. केसीलाई काठमाडौं आउन आहृवान गर्ने सम्भावना छ ।
केसीका माग सम्बोधनका बारेमा सत्तारुढ दलका नेता र डा. केसी पक्षबीच अनौपचारीक छलफल भइरहेको छ । डा. केसीका माग सम्बाेधन गर्न दबाब बढेपछि सरकारले वार्ताको तयारी थालेकाे हो ।
केसीले उठाएका माग सम्बोधन गर्न र उनको जीवन रक्षाको माग गर्दै दैनिकजसो प्रदर्शन भएका छन् । केसीका पक्षमा पूर्वप्रधानन्यायाधीश, पूर्वमन्त्रीसहित विभिन्न अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् ।
जुम्लामा १६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ । तर केसीले भने आफ्ना माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताउँदै आएका छन् ।