
काठमाडौं –उपाधिको प्रबल दाबेदर मानिएको बेल्जियमको विश्वकप यात्रा तेस्रो हुँदै सकियो । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्यो ।
इंग्ल्याण्डले गोल गर्न नसकेको यही स्थितिमा खेलको चौथो मिनेटमा थोमस मेउनिरले गरेको गोल नै निर्णायक हुने थियो । तर ८२औं मिनेटमा इडेन हजार्डले गोल थपे ।
यो गोल बेल्जियमको जीतमा जति महत्त्वपूर्ण थियो त्यो भन्दा महत्त्वपूर्ण विश्वकप हेर्न हालसालै टेलिभिजन खरिद गरेका बेल्जियनहरूका लागि थियो ।
बेल्जियमस्थित टेलिभिजन निर्माता कम्पनी क्रिफेलले बेल्जियमको टोलीले विश्वकपमा १५ भन्दा बढी गोल गरेमा विश्वकपका लागि टिभी खरिद गर्ने दर्शकहरूलाई उनीहरूले तिरेको पैसा फिर्ता गर्ने घोषणा गरेको थियो ।
इंग्ल्याण्डविरुद्ध हजार्डले गरेको गोल रुस विश्वकपमा बेल्जियमको सोह्रौं गोल हो ।
यससँगै क्रिफेलले विश्वकपको अफरमा टेलिभिजन खरिद गर्ने हजारौं दर्शकलाई पैसा फिर्ता गर्ने घोषणा गरेको छ ।
'हाम्रा हिरोहरूले विश्वकपमा १५ भन्दा बढी गोल गरेका छन् । अब हामी टिभी खरिद गर्ने हजारौं ग्राहकलाई पैसा फिर्ता गर्दैछौं,' क्रिफेलले आफ्नो ट्वीटर ह्याण्डिलमा लेखेको छ ।
टिभी कम्पनीको यस्तो अफरबारे बेल्जियन खेलाडीहरू पनि जानकार थिए ।
विश्वकपको राउण्डअफ सिक्स्टिनमा जापानसँग खेल्नुअघि बेल्जियन खेलाडी ड्राइस मेर्टेन्सले भनेका थिए - 'मेरा साथीले पनि नयाँ टेलिभिजन किनेका छन्, त्यसैले मैले यसबारे सोचेको छु । विश्वकपमा १६ भन्दा बढी गोल गरेर हाम्रा साथी र शुभचिन्तकहरूलाई टिभी उपहार दिन चाहन्छौं ।'
यस अवधिमा कतिजनाले टिभी खरिद गरे भन्ने कुराको यकित तथ्याङ्क क्रिफेलले सार्वजिनक गरेको छैन । मात्र उसले हजरौं ग्राहकले पैसा फिर्ता पाउने लेखेको छ ।
NOUS L’AVONS FAIT! 🇧🇪 Nos diables ont marqué plus de 15 goals lors de la Coupe du Monde en Russie ! Cela veut dire que nous allons rembourser des milliers de clients qui ont acheté une télévision ! pic.twitter.com/0BVckcjeBQ
— Krëfel (@Krefel) July 14, 2018