१० असार २०८३, बुधबार

भारतमा अर्को सामूहिक आत्महत्याको घटना

भारतमा अर्को सामूहिक आत्महत्याको घटना

काठमाडौं – भारतको दिल्लीस्थित बुराडीमा एक परिवारले गरेको सामूहिक आत्महत्याको खबर सेलाउन नपाउँदै झारखण्डमा त्यस्तै खालको घटना भएको छ । 

हजारीबाग जिल्लामा एकै परिवारका ६ सदस्यले आत्महत्या गरेका छन् । घटनाका कारण शहरका मानिस स्तब्ध छन् । आत्महत्या गरिएको घरमा प्रहरीले नोट फेला पारेको छ । गणितको सूत्र जस्तो गरी आत्महत्याको कारण बुझाइएको छ ।

ऋणमा डुबेका कारण परिवारले आत्महत्या गरेको हुन सक्ने बताइएको छ । तर प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 

परिवारका कुल ६ सदस्यमध्ये पाँचले फाँसी लगाएर झुण्डिए भने एकजना चाहिँ छतबाट हाम्फालेर मरे । मर्नेमा माता, पिता, छोरा, बुहारी, नाति र नातिनी छन् ।

हजारीबागमा महावीर महेश्वरीको ड्राई फ्रुट्सको पसल छ । उनको परिवारमा पत्नी किरण, छोरा नरेश, बुहारी प्रीति, नाति यमन र नातिनी यान्वी थिए । यी सबैले घरमै आत्महत्या गरेका हुन् । 

घटनास्थलको अनुसन्धान गर्दा महावीर र उनकी पत्नी किरणको शरीर फाँसीमा, बुहारी प्रीति खाटमा, नातिनी यान्वी सोफामा भेटिए । यमनको गला काटिएको थियो । नरेशको शरीर घरबाहिर भेटियो । पाँचौं तल्लाको कौसीमा रेलिङनेर एउटा
कुर्सी भेटियो । त्यसैले नरेशले हाम्फालेर आत्महत्या गरेको हुन सक्ने देखियो । 

प्रहरीले घटनास्थलमा एउटा आत्महत्या पत्र फेला पारेको छ । आत्महत्यालाई गणितको सूत्रका रूपमा बुझाइएको छ – रोग + पसल बन्द + ऋण + बदनामी + पैसा फिर्ता दिन नसकिएको = तनाव → मृत्यु लेखिएको छ । 

नरेशका काकाका छोरा देवेशका अनुसार, पूरा परिवार सीधा र स्वाभिमानी किसिमको थियो । उनीहरू व्यवसाय व्यापक भएको थियो तर धेरै दिनदेखि मार्केटमा पैसा फसेको थियो । बजारमा एक करोड रुपैैयाँ फसेको अनि ऋण तिर्न चाहिँ
धौधौ परेको स्थिति थियो । परिवार अत्यन्तै तनावमा थियो । तनाव भुलाउन उनीहरू दुई महिनाअघि भ्रमणमा गएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्