
पूर्व पोर्न स्टार तथा बलिउडकी अभिनेत्री सन्नी लियोनीको जीवनीमा आधारित रहेर बनेको फिल्म करनजीत कौर रिलिज हुनु भन्दा पहिला नै विवादमा परेको छ ।
सन्नी लियोनीको जीवनीमा आधारित यस फिल्ममा उनको बाल्यकाल देखि लिएर उनको पोर्न स्टार देखि बलिउड अभिनेत्री सम्मको यात्रा देखाइएको छ ।
५ जुलाईमा फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा फिल्मको समर्थन र विरोधमा निकै धेरै टिप्पणी देखिएको छ ।
सन्नीका आलोचकहरुले पञ्जावी सिख युवतीको नाताले पूरै सिख समाज र आफ्नो परिवारको नाम पनि वर्वा गरेको र असफल व्यक्तिको बायोपिकमा कुनै रुची नभएको बताएका छन् ।
यस्तै शिरोमणि गुरुद्वारा प्रवन्धन समितिले यस फिल्मको नाममा नै आपत्ति जनाउँदै आधिकारिक रुपमा यसको विरोध गर्ने फैसला गरेको छ ।
सन्नीले फिल्ममा कौर शब्दको प्रयोग गरेको भन्दै समितिले आपत्ति जनाएको हो ।
समितिका प्रवक्त दलजीत सिंह बेदीले भने,‘उनको काम पोर्न स्टारको थियो । उनी बच्चामा सिख थिइन् तर पछि उनले आफ्नो धर्म परिवर्तन गर्दै इसाई धर्मलाई अपनाएकी छिन् । उनका पनि पनि इसाई नै हुन् । सिख धर्ममा सिंह तथा कौर जस्ता उपनामको निकै महत्वपूर्ण स्थान र गरिमा छ । उनले यो शव्दको प्रयोग गर्न हुँदैन थियो । जसले गर्दा सिख धर्मको भावनामा ठेस पुगेको छ ।’
उनले फिल्मको नाम सन्नी लियोनी–द अनटोल्ड स्टोरी नाम राख्न सुझाव दिए ।
यस फिल्मका निर्देशक आदित्य दत्तले सिख समुदायको भावनाको सम्मान गर्दै आधाुनकि समयमा कसैले उसको पारिवारिक नामको प्रयोग गर्दा विरोध गर्नु उपयुक्त नहुने बताएका छन् ।
सिख समुदायका महिलाले आफ्नो नामको अन्तिममा कौर शब्दको प्रयोग गर्छन् जसको मतलब राजकुमारी हुन्छ ।