
काठमाडौं – नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको कर वृद्धिका बावजुद् पनि नेपाल टेलिकमले केही सेवा तत्कालका लागि पुरानै शुल्कमा उपलब्ध गराउने भएको छ ।
सरकारले साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएको छ ।
त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नुपर्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ ।
कुन-कुन सेवा पहिलेकै शुल्कमा ?
कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डियाअफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
यी सेवामा शुल्क समायोजन
अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल अलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
साथै टेलिकमले साउन १ गतेदेखि लागू हुने गरी मनसुन अफर पनि ल्याएको छ । १४१५ डायल गरेर त्यसबारे जानकारी लिन सकिनेछ । यस्तै टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर पनि यसबारे जानकारी लिन सकिन्छ ।