आइतबार मस्कोमा खेलिएको विश्वकप फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो उक्त खेलमा १९ वर्षका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेको गोलको पनि योगदान थियो ।
फ्रान्सले गरेको चार गोलमा एमबाप्पेको थप उपलब्धिपनि जोडिएको छ । उनी फूटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो कम उमेरका खेलाडी बनेका छन् ।
उनीभन्दा पहिला १९५८ को विश्वकप फाइनलमा पेलेले गोल गरेका थिए । त्यस सयम पेलेको उमेर १८ वर्षको थियो र त्यस खेलमा उनको दुई गोलको मद्दतमा ब्राजिलले स्वीडेनलाई ५–२ ले हराएको थियो ।
यस उपलव्धिका लागि पेलेले ट्विाट गर्दै एम्बाप्पेलाई बधाई दिएका छन् ।
बाल्यकालदेखिनै प्रतिभावान
रुसमा भएको यस वल्र्डकप खेलमा एमबाप्पेले चार गोल गरे । उनी सबैभन्दा धेरै गोल गर्ने उच्च तीन खेलाडीमा त सामेल भएनन् तर उनले फिफा योङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि जिते । अर्थात उनी विश्वकपका सर्वश्रेष्ठ युवा खेलाडी चुनिएका छन् ।
आज उनको प्रतिभा तथा क्षमताको चर्चा विश्वभरी भइरहेको छ । तर किलियन एमबाप्पे बाल्यकालदेखिनै प्रभावित गर्ने व्यक्ति हुन् ।
२० डिसेम्बर १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका बुवा विल्फ्राइड क्यामरुन मुलका हुन् । उनी फूटबलका कोच हुन् र एमबाप्पेका एजेन्ट पनी ।
एमबाप्पेकी आमा फएजा लमारी अल्जेरियाकी हुन् उनी ह्याण्डबलकी खेलाडी थिइन् ।
एमबाप्पेको करियरको शुरुवात पेरिसको फूटबल क्लब एएस बान्डीबाट भएको थियो । जहाँ उनका बुवा विल्फ्राइड कोच थिए । त्यहाँ एमबाप्पेले एक अन्य कोच एन्टोनियो रिकार्डोसँग पनि कोचिङ लिएका थिए ।
एमबाप्पे बारे रिकार्डोले बीबीसीसँग भने‘एमबाप्पे त्यस समय ६ वर्षको थियो जब पहिलो पटक कोचिङ दिएको थिए । त्यस बेला नै उनी चर्चामा थिए । बाँकी बच्चा भन्दा उनी राम्रा थिए ।’
एएस बान्डीपछि एमबाप्पे क्लेयरफोन्टेन एकेडेमी गए । उनको प्रतिभा देखेपछि फ्रान्सेली क्लबहरु, रियल मड्रिड, चेल्सी, लिभरपुल तथा मेन्चेस्टर सिटी जस्ता क्लबले उनलाई लान चाहेका थिए ।
फूटबल क्लबमा उनलाई भित्र्याउन होड नै चलेको थियो । यसको अनुमान यो विषयले लागाउन सकिन्छ कि विश्वको दोस्रो सबैभन्दा महंगो ट्रान्सफरको रेकर्ड एमवाप्पेकै छ ।
यस साल १३५ मिलियन यूरोमा उनको ट्रान्सफर मोनाकोबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनका लागि भएको थियो ।
जर्मनीका पूर्व स्ट्राइकल तथा मेनेजर जर्गन क्लिन्समन भन्छन्,‘एम्बाप्पले अझै धेरै देखाउन नै बाँकी छ । उनले बजारलाई हल्लाएर राखिदिएका छन् ।’
सर्वश्रेष्ठ खेलाडीको ताज
३३ वर्षका रोनाल्डो तथा ३१ वर्षका मेस्सीको पछिल्लो एक दशकको विश्व फूटबलका सर्वश्रेष्ठ खेलाडीको रुपमा लिइन्छ । फूटबको पछिल्लो १० प्रतिष्ठित बालन डि ओर यी दुई खेलाडीले भाग लगाएर जितिरहेका छन् ।
तर इग्ल्याण्डका पूर्व डिफेन्डर रियो फर्डिनान्ड भन्छन्,‘लियोनल मेस्सी तथा रोनाल्डो विश्वका सर्वश्रेष्ठ खेलाडीको ताज फ्रान्सका टिनेजर किलियन एमवाप्पेलाई सुम्पिइरहेका छन् ’
म्यान्चेस्टर युनाइटेडका लागि खेलिसकेका फर्डिनान्ड भन्छन्,‘आगामी केही वर्षसमम् एमबाप्पे बोलेन डि ओरको खेलमा देखिनेछन् ।’
फर्डिनान्डका अनुसार एमबाप्पेले कम उमेरमा धेरै परिपक्वता देखाएका छन् । त्यस्तै जर्मनीका पूर्व स्ट्राइकर क्लिन्समनका अनुसार एमबाप्पेलाई देख्दा लाग्छ उनी १० वर्षदेखि फ्रान्सको टोलीमा खेलिरहेका छन् ।