
काठमाडौं – अघिल्लो हप्ता तेलको भाउ बढाइएका कारण भएका हिंस्रक प्रदर्शनपछि हाइटीका प्रधानमन्त्री ज्याक गाय ला फोन्टेन्टले पदबाट राजीनामा दिएका छन् । प्रदर्शनपछि उनीमाथि राजीनामाको दबाब थियो ।
फोन्टेन्टले राजीनामा दिँदै तल्लो सदनलाई भने, ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा सुम्पेको छु र त्यो स्वीकृत भइसकेको छ ।’
प्रधानमन्त्रीको राजीनामापछि संसद् सभामुख गेरी बोडोएले ट्वीट गरेर राष्ट्रपति जोभेनल मोसलाई आम सहमतिमार्फत प्रधानमन्त्री छान्न भनेका छन् ।
विगत केही समययता प्रधानमन्त्रीको कामकाजमा प्रश्न उठिरहेका थिए । स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, फोन्टेन्टले राजीनामा नदिएको भए अविश्वासको मतको सामना गर्नुपर्ने हुन्थ्यो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले हाइटीमा भएको हिंस्रक प्रदर्शनको निन्दा गरेको छ र सबै पक्षलाई शान्ति कायम गर्न अनुरोध गरेको छ ।
हाइटीमा मट्टितेलसहित तेलको मूल्य बढ्दा आम जनतामा रोष छ र हिंस्रक प्रदर्शन भड्केको छ । अघिल्लो हप्ता क्यारिबियन देशको सरकारले पेट्रोलमा ३८ प्रतिशत, डीजलमा ४७ प्रतिशत र मट्टितेलमा ५१ प्रतिशत वृद्धि गरेको थियो ।
एजेन्सी