
काठमाडौं, ४ फागुन — राष्ट्रिय आविष्कार केन्द्र बनाउने अभियानमा जुटेका समाजसेवी महावीर पुनले आफूले पाएका पदकहरू बेच्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टेटस लेख्दै उनले पदकहरू बेच्न लागेको उनले बताएका छन् ।
तर उनले कुन पदकलाई कतिमा बेच्ने भनेर चाहिँ खुलाएका छैनन् । उनले पुराना तक्माहरू संग्रह गर्न चाहनेहरूले आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
आफूलाई पदक दिने संस्थाहरूको अपमानको लागि नभई उनीहरूको सम्मानको लागि यी पदक बेच्न लागेको बताए । सकारात्मक कामका लागि आफूले यी पदकहरू बेच्न लागेको उनको भनाइ छ । आफूसँग थन्किएर बसेका यी पदक अरू कसैले संरक्षण गर्न सक्ने उनको धारणा छ ।
राष्ट्रिय आविष्कार केन्द्रका लागि मिडिया संयोजक सौरभ ढकालले आविष्कार केन्द्रमै पैसा आउनेगरी पदकहरू बेच्न थालिएको बताए ।
‘एउटा इभेन्ट गरेर मोलमलाइमा बेच्ने तयारी गरेका छौं,’ उनले भने, ‘यी पदकहरूको संरक्षण गर्न सक्ने व्यक्तिलाई हामीले बेच्नेछौं ।’ पुन निरन्तर सहयोग संकलनमा जुटिरहेको समेत उनले बताए ।
उनका अनुसार सो स्टेटस लेख्दै गर्दा पनि पुन सहयोग संकलनका लागि देशको पूर्वी क्षेत्रमा लागेका छन् । अहिलेसम्म आविष्कार केन्द्र निर्माणको लागि पाँच करोड भन्दा बढी रकम संकलन भएको उनले बताए ।
महावीर पुनले दिएको पोखरामा रहेको आफ्नै जग्गासमेत जोडेर सो रकम जुटेको हो । ढकालले पुनले पोखरामा रहेको तीन करोड २३ लाख बराबरको जग्गा आविष्कार केन्द्रलाई दिएको जानकारी गराएका छन् ।




