
काठमाडौं – पृथ्वीभित्र भएको उथलपुथलका कारण अफ्रिका महादेश दुई टुक्रा हुने र हिमालय पनि हल्लिने भविष्यवाणी वैज्ञानिकहरूले गरेका छन् । उनीहरूका अनुसार, एक दिन पृथ्वीको तस्वीर परिवर्तन हुनेछ ।
महादेशका टेक्टोनिक प्लेटहरू बिस्तारै सरिरहेकाले यसो हुने उनीहरू बताउँछन् ।
सन् २०१८ को शुरूआतमै पूर्वी अफ्रिकी मुलुक केन्याको भूमि चर्किएको छ । त्यसो त यो चिराको टेक्टोनिक प्लेटका गतिविधिसँग कुनै सम्बन्ध छैन तर अनुसन्धानले के देखाएको छ भने आगामी एक करोड वर्षमा अफ्रिका पूरै परिवर्तन हुनेछ ।
यसबाट नयाँ महादेश र पर्वतशृंखलाको जन्म हुनेछ ।
एक करोड वर्षपछि पूर्वी अफ्रिका बाँकी महादेशबाट पूरै अलग्गिनेछ । पूर्वी अफ्रिकी रिफ्ट भ्यालीका साथ अफ्रिकी महादेश दुई भागमा विभाजित हुनेछ ः सोमाली प्लेट र न्युबियन प्लेट ।
भारतवर्ष–अस्ट्रेलियाली टेक्टोनिक प्लेट उत्तरमा युरेसियन प्लेटतर्फ जानेछन् जसकारण हरेक वर्ष हिमालय पर्वत श्रेणी एक सेन्टिमिटर बढ्नेछ र दक्षिणतर्फ फैलिनेछ ।
यही प्लेट युरेसियन प्लेटसँग ठोक्किएपछि हिमालय पर्वत शृंखला बनेको थियो । तर सन् २०१२ मा भएको एक अध्ययनले भारतवर्षीय प्लेटको उत्तरी दिशामा गतिविधि मन्द भइरहेको र आगामी दुई करोड वर्षमा पूरै रोकिने पायो ।
साधारणतया चिरा अर्थात् रिफ्ट भविष्यमा महादेशहरू टुक्रिने संकेत हो । चिरा बढ्दै जाँदा पृथ्वीको माथिल्लो भाग पातलो हुन्छ ।
चिराले महादेशलाई दुई भागमा बाँडेपछि त्यसकारण खाली भएको ठाउँमा महासागरको पानी भरिन्छ र हिन्द महासागरमा नयाँ महादेश जन्मिन्छ ।
एजेन्सी