काठमाडौं – भारतको कोलकातामा एक महिलाले आफ्ना पतिलाई बन्दुक तेर्स्याएर उनका दुवै कान काटिदिएकी छन् । यो खतरनाक घटना सेन्ट्रल कोलकाताको नारकेलडांगा इलाकाको हो ।
आफ्ना पति मोहम्मद तन्वीरभन्दा लगभग दुईगुणा उमेर बढी भएकी ४० वर्षीया मुमताज बीबीले आफ्ना साथी र नातेदारहरूसँग मिलेर धारिलो हतियारले प्रहार गरेको आरोप छ । तन्वीर र मुमताज नारकेलडांगाको एक घरमा सँगसँगै बस्थे । दुई वर्षअघि मात्र उनीहरूको विवाह भएको थियो ।
घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणपछि तन्वीरको लगातार रगत बगिरहेको थियो । उसको कान दुई टुक्रा भएको थियो ।
तन्वीर म–यो भन्ठानेर मुमताज र उसका आफन्तहरू घटनास्थलबाट फरार भए । गम्भीर घाइते भएका तन्वीरलाई उसका छिमेकीहरूले एनआरएस अस्पताल पु–याए ।
प्रारम्भिक मेडिकल रिपोर्टअनुसार, धारिलो हतियारले काटिएका कारण तन्वीरका दुवै कान टाउकोबाट छुट्टिएका छन् ।
तन्वीरको परिवारले बताएअनुसार, बिहेपछि मुमताजले पतिलाई लगातार सताउने गरेकी थिइन् । उसलाई आफ्नो परिवारसँग भेट गर्न पनि मुमताजले रोक लगाएकी थिइन् । उनी कतिचोटि घरबाट भागेका पनि हुन् । अनि मुमताजले तन्वीरसँग
जबर्जस्ती पैसा पनि असुलेकी छन् ।
तन्वीरको परिवारका अनुसार, उनीहरूले मुमताजबाट तन्वीरलाई छुटाउन धेरै सम्झाइबुझाइ गरेको भएपनि केहस् भएन । परिवारका एक सदस्यले भने, ‘तन्वीरकी आमाले आफ्नो सम्पत्ति समेत बेचिदिइन् र सबै पैसा मुमताजलाई दिएर
तन्वीरलाई मुक्त गर्न भनिन् । मुमताजले पैसा त लिइन् तर तन्वीरबाट छुट्टिन चाहिँ मानिनन् ।’
तन्वीरले मिडियालाई बताएअनुसार, हालै उनी मलिकपुरतिर भागेका थिए । तर मुमताज र उनका सहयोगीहरूले उसलाई फेरि समातेर ल्याए ।
तन्वीरले भने, ‘मुमताज र उसका बहिनीहरू मलाई प्रायः पिटिरहन्थे । त्यसैले म घरबाट भागें । फेरि पक्रेर ल्याएपछि उनीहरूले बन्दुक तेर्स्याएर मेरो कान काटिदिए ।
एजेन्सी