काठमाडौं – सलमान खानको फिल्म भारतको शूटिङ शुरू भइसकेको छ । यसको निर्देशन अली अब्बास जाफरले गरिरहेका छन् ।
यो दक्षिण कोरियाली फिल्म ओड टु माइ फादरको रिमेक हो ।
सलमानका डिजाइनर एश्ले रिबेलोले फिल्ममा उनको लूक कस्तो हुनेछ भनी इन्स्टाग्राममा शेयर गरेका छन् ।
तस्वीर हेर्दा सलमानको लूक सधैंको जस्तो देखिन्छ । त्यसमा केही नयाँपन छैन । अघिल्लो फिल्म रेस ३ मा पनि उनको लूक यस्तै थियो । उनले बम्बर ज्याकेट लगाएको देखिन्छ ।
यो लूक कुनै गीतको शूटिङको बेला लिइएको हुनुपर्छ ।
तर सलमानका प्रशंसकहरूले निराश हुनुपर्ने आवश्यकता छैन किनकि फिल्ममा सलमानका अनेकौं लूक देखिएका छन् । फिल्ममा सलमानको उमेर २५ देखि ६५ वर्षसम्मको छ । उमेरपिच्छे उनको लूक फरक हुनेछ ।
यसको कथा सन् १९४७ देखि २०१० सम्मको छ । फिल्म सन् २०१९ को जुन ५ मा रिलिज गरिनेछ ।
अली अब्बास र सलमानको जोडीको यो तेस्रो फिल्म हो । यसअघि उनीहरूले सुल्तान र टाइगर जिन्दा है मा काम गरिसकेका छन् । प्रियंका चोपडा यही फिल्ममार्फत लामो समयपछि बलिउडमा कमब्याक गर्दैछिन् । फिल्ममा दिशा पाटनी
पनि देखिनेछिन् ।
एजेन्सी