२९ जेठ २०८३, शुक्रबार

राहत नपाएपछि बाढीपीडित सडकमा, रंगेली–विराटनगर सडकखण्ड अवरुद्ध

राहत नपाएपछि बाढीपीडित सडकमा, रंगेली–विराटनगर सडकखण्ड अवरुद्ध

विराटनगर – बाढीपीडितलाई राहत रकम नदिएको भन्दै कटहरी गाउँपालिकाका बाढीपीडितले रंगेली–विराटनगर सडकखण्ड अवरुद्ध गरेका छन् ।

उनीहरूले सडकमा बास तेस्र्याएर सडक जाम गरेका हुन् । गत वर्ष आएको बाढीले घरबारविहीन भएका बाढीपीडितको नाममा आएको रकम गाउँपालिकाले समयमै वितरण नगर्दा फिर्ता भएपछि बाढीपीडित आन्दोलित भएका हुन् ।

समयमा नै वितरण गर्ने बारेमा गाउँपालिकाले वेवास्ता गर्दा बाढीपीडितको नाममा आएको झण्डै ४ करोड रकम फिर्ता भएको हो । कटहरी गाउँपालिकाले बाढीपीडितको नाममा आएको रकम समयमा नै वितरण गर्न सकेको थिएन ।

गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफू निकटलाई मात्र बाँड्न खोज्दा समय घर्किएको गाउँपालिकावासी बताउँछन् । रकम फिर्ता भएपछि बाढीपीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा आएर पनि धर्ना दिँदै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य समक्ष समस्या सुनाएका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पनि कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतको लापरवाहीका कारण रकम फिर्ता आरोप लागेको थियो ।

कटहरी गाउँपालिकामा बाढीपीडितका लागि ३ करोड ८९ लाख २५ हजार रकम आएको थियो । गृह मन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउँपालिकाले खर्च गरिसक्नुपर्ने थियो । तर, त्यो रकम खर्च हुन सकेन र फिर्ता गयो । रकम फिर्ता गएको विषयमा जानकारी पाएका बाढीपीडितले गाउँपालिकाको बदमासीको कारण यस्तो भएको हो भन्ने पत्तो नपाएपछि उनीहरू जिल्ला प्रशासन कार्यालय मोरङमा आएका थिए । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले गाउँपालिकाले रकम समयमै नबाँडेर फिर्ता गएको थाहा पाएपछि उनीहरू आजदेखि सडक बन्द गरेर आन्दोलित भएका हुन् । गाउँपालिका अध्यक्ष कामतले सीडीओ कार्यालयबाट नै रकम नपठाएको भन्दै बाढीपीडितलाई पटक–पटक ढाट्दै आएको पीडितको भनाई छ ।

बाढीपीडित मुकेश यादवले रकम नदिएर फिर्ता गएको थाहा पाएपछि ३ दिनदेखि लगातार जिल्ला प्रशासन कार्यालय मोरङ र कटहरी गाउँपालिका घेराउका आन्दोलन गर्दै आएकोमा आजदेखि सडक बन्दसम्मको कार्यक्रमको आयोजना गरिएको बताए । 

गाउँपालिकाका अध्यक्ष कामत भने फिर्ता गएको रकम जिल्ला प्रशासन कार्यालयले पहल गरेर फर्काइदिनुपर्ने बताउँछन् । स्थानीय तहका गाउँपालिकाका प्रमुखले आफ्नो अधिकार नै बुझ्न नसक्दा सेवाग्राहीले त दुःख पाएका छन् नै आफूहरूले समेत दुःख पाउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्