१० असार २०८३, बुधबार

चुनावी परिणाम नआउँदै पाकिस्तानमा धाँधलीको लफडा, इमरान खानको आयो यस्तो प्रतिक्रिया

साउन १०, २०७५
चुनावी परिणाम नआउँदै पाकिस्तानमा धाँधलीको लफडा, इमरान खानको आयो यस्तो प्रतिक्रिया

इस्लामावाद– क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गरेका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गरेका छन् । 

बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ पीटीआई’ धेरै ठाउँमा विजयी भएको दाबी गरेका हुन् । 

निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्रमा मतपरिणाम सार्वजनिक हुने भनिए पनि अहिलेसम्म औपचारिक रूपमा मत परिणाम भने सार्वजनिक भएको छैन । 

पाकिस्तानमा केही हिंसात्मक घटनाका बीच बुधबार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । 

मतदान सकिएको २४ घण्टाभन्दा बढी समय भइसक्दासमेत मत परिणाम सार्वजनिक नभएको र अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिएको आलोचकहरूको भनाई छ । 

पराजित भएका दलहरूले मतपरिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन आयोगले अहिलेसम्म मतपरिणाम सार्वजनिक गर्न नसकेको बताइएको छ । 

कतिपय अन्य दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्ने संकेत गरेका छन् । 

पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै अनधिकृत चुनावी परिणामलाई स्वीकार गर्न नसकिने जनाएको छ । 

पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ । 

“यो चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको छ,” प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताए । 

सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन)ले चुनावी परिणामलाई “खुलेआम धाँधली” को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका विरुद्धमा राजनीतिक एवं कानूनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ । 

कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । 

आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराएका छन् । 

चुनावमा दिनहुँ हिंसात्मक घटना हुन थालेपछि देशभरका ८५,००० मतदान स्थलमा करिब ३५०,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

राष्ट्रिय सभाका २७० स्थान र चारवटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दाबढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । 

पाकिस्तानमा कूल २७० स्थान रहेको राष्ट्रिय सभाबाट सरकार गठनका लागि १३७ स्थान आवश्यक पर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्