११ असार २०८३, बिहीबार

मुख्य समाचार : २७ औं दिनमा नौ बुँदे सहमति भएपछि तोडियो केसीको अनशन, पानीमा पनि भ्याट

मुख्य समाचार : २७ औं दिनमा नौ बुँदे सहमति भएपछि तोडियो केसीको अनशन, पानीमा पनि भ्याट

काठमाडौं–  सरकार र २७ दिनदेखि अनशनरत प्रा डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा नौबुँदे सहमति भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सहमति भएपछि डा. केसीको अनशन तोडिएको छ ।

सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत डा. केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जुस ख्वाएर अनशन तोडाएका हुन् ।

सो अवसरमा नेकपाका महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस सहयोगी चेतन अधिकारीलगायत सहभागी थिए । केसीलाई राति नै सघन उपचार कक्षमा लगिएको छ ।

डा. केसीको अनशन तोडाउन प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेकपाका नेता नेम्वाङ, डा. माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा, मन्त्रिपरिषद्का चिकित्सक डा. दिव्यासिंह शाहलगायत सक्रिय थिए ।

त्रिवि शिक्षण अस्पतालमा भएको नौबुँदे सहमतिपत्रमा सरकारी वार्ताटोलीका तर्फबाट शिक्षा, विज्ञान ताथ प्रविधि मन्त्रालयका सचिव खगराज बराल र डा. केसीका तर्फबाट उनी स्वयंले हस्ताक्षर गरेका छन् । 

सरकारले मन्त्रालय फुटायो
सरकारले दोस्रोपटक मन्त्रालय संख्या बढाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएको हो । अब कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको छ । योसँगै अब मन्त्रालय संख्या २२ पुगेको छ । 

यस्तै सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको चलअचल सम्पत्ति तथा दायित्व अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन विकास समिति, भूमिगत जलस्रोत विकास समिति, जल तथा ऊर्जा आयोग नेपाल र विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमातहतको कानूनी किताब व्यवस्था समितिलाई कायमै राख्ने निर्णय भएको छ ।

बैठकले रेडियो प्रसार सेवा विकास समिति, राष्ट्रिय सूचना प्रविधि केन्द्र र सुरक्षण मुद्रण विकास समिति कायमै राख्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपाललाई नेपाल मिडिया काउन्सिल नामकरण गर्दै त्यससम्बन्धी  विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि भएको उनले बताए ।

त्यसैगरी नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई यही साउन २५ देखि लागू हुने गरेर कामु प्रधानसेनापति भई कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरिएको छ ।  सरकारले लुम्बिनी विकास कोषका उपाध्यक्षमा अवधेशकुमार त्रिपाठी र सदस्य सचिवमा विष्णुप्रसाद ढकाललाई मनोनयन गर्ने निर्णय गरेको छ । 

पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
रसुवाको टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनका ४३ वर्षीय गोसार भनिने मिङमार गोम्बो तामाङ रहेका छन् ।

यसैगरी पहिरोमा परी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ मामिङका २७ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, ४२ वर्षीय श्याम श्रेष्ठ र सिन्धुपाल्चोक भोटेकोशी गापा–४ फुलपिङकट्टीका ३५ वर्षीय रेशम भनिने सुस खड्काको पनि मृत्यु भएको छ । पहिरोले एक पक्की घर क्षति बनाउनाका साथै तीन वटा छाप्रा तथा एक प्रहरीको बिटसमेत पुरिएको छ । 

लगानीकर्तालाई १० वर्षसम्म कर छुट 
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

त्यसैगरी वैदेशिक ऋण अनुदान सहायता एवं अन्तर्राष्ट्रिय लगानी प्राप्त गर्ने सम्बन्धमा विकास साझेदार, दातृ निकाय एवं वैदेशिक लगानीकर्तामैत्री वार्ता, संवाद र साझेदारी गर्न प्रदेश सरकारलाई सहमति दिन नेपाल सरकार तथा अर्थ मन्त्रालयसंग अनुरोध गरी पठाउने निर्णय भएको प्रवक्ता केसीले बताइन् ।

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ
प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ । कतिपय विषयवस्तु स्पष्ट हुन बाँकी रहेकाले निर्णय भने शुक्रबारका लागि सारिएको समितिले जनाएको छ । जोशीले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न थप समय आवश्यक रहेको ज्येष्ठताका आधारमा समितिको सभापतित्व गरिरहेका लक्ष्मणलाल कर्णले बताए ।

सुनुवाइका क्रममा सांसदहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा गराएको, शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको, ऐनसेललाई राजस्व छुट दिएको, क्यासिनोको बारेमा विवादास्पद फैसला गरेको र जथाभावी आन्तरिक आदेश दिएको  भन्दै प्रश्न उठाएका थिए । 

पानीमा पनि भ्याट 
लललितपुरको गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ । 

अर्थात ठूलो ट्यांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् । सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ । वस्तु तथा सेवाको मूल्यमा हुने अभिवृद्धिमा लाग्ने कर नै भ्याट हो । तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो ।, कान्तिपुरमा खबर छ ।

दुर्गा प्रसाईँंविरुद्ध उजुरी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । व्यवसायी प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्राहरुका बारेमा दिएको अभिव्यक्ति विरुद्ध अभियन्ता जमुना सुवेदी, अम्बिका कार्की र राज्यलक्ष्मी श्रेष्ठले मानव अधिकार आयोगमा उजुरी हालेका हुन् ।

यसैगरी, कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिएण्डसी मेडिकल कलेजका प्रवन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ ।

इन्टरनेटमा बढेको मूल्य फिर्ता
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो ।

इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले पनि मूल्य बढाएका थिए ।

१८१ खेलाडी बन्द प्रशिक्षणमा 
आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् । 

पहिलो एशियाली खेलकूद प्रतियोगितादेखि नै सहभागी हुँदै आएको नेपालले अहिलेसम्म एक रजत र २२ कास्य पदक जितेको छ । सन् १९५१ मा भारतको नयाँदिल्लीमा शुरु भएको पहिलो एशियाडदेखि सहभागिता जनाउँदै आएको नेपालले १०औँ एशियाडमा गएर मात्र पदक जितेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्