काठमाडौं– पशुपति राजराजेश्वरीस्थित किरियापुत्री घरमा किरिया बस्नका लागि कोठा पाउनै मुस्किल छ । किरियापुत्री घर व्यवस्थित त छ तर माग अनुसार पर्याप्त छैन ।
आर्यघाटका ११ परम्पराका चिता र दुई विद्युतीय यन्त्रबाट दैनिक सरदर २० देखि २५ शवदाह हुने गरेको छ तर किरिया बस्ने कोठा पुरानो र नयाँ भवनमा गरेर जम्मा ४६ वटा छन् ।
किरियाका लागि एक परिवारलाई १३ दिनसम्म कोठा चाहिन्छ । त्यसैले माग अनुसार कोठा पुर्याउनै मुस्किल भएको हो । किरियापुत्री भेट्न आउने इष्टमित्र तथा नातेदारको हुल र अन्य कामका लागि एक परिवारलाई दुई कोठासम्म माग हुँदै आएको छ ।
‘यो अवस्थामा त झनै कोठा पुर्याउनै सकिएको छैन,’ किरियापुत्री तथा घाट व्यवस्थापन हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगर भन्नुहुन्छ ।
किरियापुत्री कार्यमा संलग्न ब्राह्मण रघुनाथ बाँस्कोटाका अनुसार कतिपय कोठा नपाएर घर तथा डेरातिरै लाग्छन् भने कोही ज्ञानेश्वर भैरवस्थान, सिफल भण्डारेश्वर, पुरानो वानेश्र हाइट, वाँसवारी सामुदायिक भवन र प्रयागमार्ग बानेश्वरमा रहेको किरियापुत्री भवनमा पनि किरीया बस्न पुग्छन् ।, गोरखापत्रमा खबर छ ।