काठमाडौं – श्रीदेवीकी जेठी छोरी जाह्नवी कपूरको डेब्यु फिल्म धडकले बक्स अफिसमा राम्रै प्रदर्शन गरिरहेको छ । नवनायक ईशान खट्टरसँग जाह्नवीको यो फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् ।
सुपरहिट मराठी फिल्म सैराटको हिन्दी रिमेकले बक्स अफिसमा ५० करोड भारुको कारोबार गरेको छ । जाह्नवी र ईशानले प्रशंसा पनि बटुलेका छन् ।
फिल्मको सफलतापछि राखिएको एक पत्रकार सम्मेलनमा जाह्नवीलाई अभिनयका बारेमा आएका सकारात्मक र नकारात्मक समीक्षा पढ्दा कस्तो अनुभव भयो भनी सोधिएको थियो ।
जाह्नवीले भनिन्, ‘मेरो प्रशंसा हुँदा त म खुशीले उफ्रिएँ तर नकारात्मक समीक्षा पढ्दा चाहिँ बाथरूममा गएर ग्वाँ ग्वाँ रोएँ ।’
सैराटसँग भावनात्मक रूपमा जोडिएका दर्शकले धडकलाई पनि एक मौका दिनुपर्ने जाह्नवीले बताइन् ।
आमा श्रीदेवीको मृत्युपछि फिल्म धडकले नै आफूलाई सम्हालिन सहयोग गरेको जाह्नवीले बताइन् । फिल्ममार्फत नै आमाको बिछोडलाई सहन सकेको उनको भनाइ छ ।
एजेन्सी