
विराटनगर – १ नम्बर प्रदेशमा सबैभन्दा बढी अपराध हुने जिल्लामा सुनसरी अगाडि रहेको पाइएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अपराध हुने जिल्लाको अवस्थाबारे जानकारी दिँदै अपराध नियन्त्रण गर्ने क्रममा जिल्लाको बढी अपराध हुने र कम अपराध हुने जिल्लाको र्याङ्किङ गरिएको जनाएको हो । सार्वजनिक गरिएको तथ्यांकमा आर्थिक वर्ष २०७४/०७५ मा सुनसरीमा १ हजार ९ सय ९० अपराध भएका छन् ।
दोस्रो नम्बरमा झापा जिल्ला परेको छ । झापामा १ हजार ६ सय ८७ अपराधको घटना भएको तथ्यांकले देखाएको हो । तेस्रो नम्बरमा रहेको मोरङमा १ हजार ६ सय ३७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी महानिरीक्षक (डीआईजी) केदार रिजालले जानकारी दिए । त्यसपछि उदयपुर, ईलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा र तेह्रथुम जिल्लामा क्रमशः कम अपराधका घटना भएको उनले जानकारी दिए ।
अपराधका घटनामा संलग्नको पहिचान र कारवाहीका लागि जिल्लामा सुरक्षाको लागि नयाँ योजना अघि सारिएको जनाइएको छ । योजना अनुसार सुरक्षालाई ३ भागमा विभाजित गरिएको छ । प्रदेशको प्राथमिक जिम्मेवारीका आधारमा, वर्तमानको प्राथमिकता र विशेष प्रहरी कार्यक्रम अन्तर्गत सुरक्षालाई ३ भागमा बाँडेर सुरक्षाको संवेदनशीलताका आधारमा काम भइरहेको डीआईजी रिजालले बताए ।
‘जिल्ला तहमा हुने गुण्डागर्दीमा संलग्नको प्रोफाइल तयार पार्ने काम भइरहेकाले त्यसमा संलग्न १ सय ४३ जनालाई पक्राउ गरिएको र १ सय ३३ जनालाई निगरानीमा राखिएको छ,’ उनले भने । १ सय ३७ स्थानीय तहमध्ये कुन तहमा कस्तो खालका आपराधिक घटना हुन्छन् भन्नेसम्मको विवरण प्रदेश प्रहरी कार्यालयले तयार पारिसकेको र घटना हुन नदिनको लागि सुरक्षा निकायलाई निगरानीका लागि भनिएको उनले बताए ।
मुद्दा फछ्र्याैटमा समस्या
जिल्लामा दर्ता हुन आएका ७ हजार ६ सय ९१ मुद्दामध्ये ४ हजार १ सय ५९ मुद्दा फछ्र्याैट भएको छन् । जसमध्ये ३ हजार ५ सय ३२ मुद्दा फछ्र्यौट हुन नसकेको रिजालले जानकारी दिए । मुद्दामा अधिकांश अपराधसँग सम्बन्धित रहेका छन् ।
अपराधको स्थिति :-
आ.व. | दर्ता | फर्छौट | काम बांकी |
२०७४/२०७५ | 7691 | 4159 | 3532 |
चैत्र\बैशाख | ज्येष्ठ\असार | |
कर्तव्य ज्यान | १९ | १७ |
ज्यानमार्ने उधोग | ३२ | ३० |
अपहरण | १ | ६ |
हातहतियार खरखजना | ७ | ९ |
लागु औषध | १०६ | १४८ |
बिष्फोटक पदार्थ\बम बिष्फोटन | ३ | ६ |
जवरजस्ति करणी | ७७ | ७४ |
जवरजस्ति करणी उधोग | ३८ | ४५ |
मानव बेचविखन | १८ | १० |