
काठमाडौं– पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ ।
तर, पाकिस्तानका राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ । प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । एक दर्जनभन्दा बढी पार्टीका नेताहरूले चुनावपछि एउटा संयुक्त रणनीति बनाउनका लागि पत्रकार सम्मेलन गर्दै यस्तो सन्तुष्टी जनाएका हुन् ।
चुनावमा धाँधली भएको आरोप लगाइए पनि इमरान खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको बताइएको छ ।
प्रतिद्वन्द्वी पार्टीमा पूर्व सत्तारुढ दल पीएमएल–एन पनि छ, जसले यसअघि आफू विपक्षमा बस्न तयार रहेको बताएको थियो । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भइ जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफले पार्टीले संसद् बहिष्कार गर्ने वा नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् ।