०९ असार २०८३, मंगलबार

मुख्य समाचार : जाेशीका प्रमाणपत्र शंकाको घेरामा, उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र

मुख्य समाचार : जाेशीका प्रमाणपत्र शंकाको घेरामा, उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र

काठमाडौं– सरकार र प्रतिपक्षी दल नेपाली काँग्रेस सार्वजनिक रुपमै अर्काको आलोचनामा उत्रिएका छन् । काँग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेको छ भने सरकारले त्यसको पुष्टी गर्न उसलाई चुनौती दिएको छ । 

शनिबार कांग्रेस निकट वकिलहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोशिएसनको नवलपुरमा भएको दशौं महाधिवेशनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी गरे । उनले सरकारले नै गलत काम गरेर प्रतिपक्षीलाई विरोधमा उत्रन निम्तो दिएको बताए । 

डा. गोविन्द केसीको मागलाई लिएर संसद र सडकमा आरोपप्रत्यारोपमा उत्रिएका सत्तारुढ र प्रतिपक्षी दल फेरी सभामुख र उपसभामुखको विषयलाई लिएर सार्वजनिक रुपमै आरोप आलोचनामा उत्रिएका हुन् । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख एउटै पार्टीको हुनै नसक्ने भन्दै कुनै एउटा पद छोड्नु पर्ने बताए ।

यता, प्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अधिनायकवादको पुष्टि गरेर देखाउन चुनौति दिनु भएको छ । राजधानीमा भएको कार्यक्रममा उहाँले कांग्रेस घट्दै गएर अब माइतिघर मण्डलामा सभा गर्ने अवस्थामा पुगेको बताउनु भयो । 

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पराजित भएपछि काँग्रेसले कम्युनिस्ट सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको अरोप लगाए । ललितपुरमा आयोजित प्रोगेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एशोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणा सभामा प्रचण्डले प्रतिपक्षी दल कांग्रेसप्रति असन्तुष्टि जनाएका हुन् । 

घुससहित इन्जिनियर पक्राउ
भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट वीरगञ्ज तर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

उनकी श्रीमती समेत पक्राउ परेकी छन् । घुसको रकम लिएर वीरगञ्ज तर्फ जाँदै गरेको अवस्थामा अख्तियारको दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनकी श्रीमतीलाई पक्राउ गरेको हो । ३६ लाख मध्ये केही नगद बैंकमा जम्मा गरेको भौचर फेला परेको आयोगको कार्यालय बुटवलले जनाएको छ ।  

यस्तै, गुल्मीमा सञ्चालित तम्घास सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झा घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले झालाई १ लाख रुपैयाँ रकम सहित तम्घास स्थित उनकै कोठाबाट पक्राउ गरेको हो । 

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र शंकाको घेरामा
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् । 

‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए ।

सचिवालय स्रोतले उपलब्ध गराएको प्रतिलिपिअनुसार २०३० साउनमा नेपाल ल क्याम्पसमा ‘प्रमाणपत्र तह’ मा भर्ना भएका जोशीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या ५३३८ उल्लेख छ । २०३१ साउनमा भर्ना भएका गोपाल पराजुलीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या १३४७६ उल्लेख छ । दुवैको रिपोर्टको ढाँचा एउटै छ ।, कान्तिपुरमा खबर छ ।

काठमाडौँको फोहर सडकमै थुप्रने खतरा 
तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार नगर्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघिमात्र करिब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ । 

पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गरेको छ । यसरी समस्या बढ्दै जाने हो र सम्बन्धित निकायले तत्काल उपयुक्त व्यवस्थापनको पहले नगर्ने हो भने उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक पाँच सय मेट्रिक टन फोहर निष्कने गर्दछ । 

काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहरमैला व्यवस्थापन प्रविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने बताए ।

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र
संयसक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखी उत्तर कोरियाली मुलुक तथा नागरिकको स्वामित्वमा सञ्चालित सबै उद्योग व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रुपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको छ । राष्ट्रसंघले प्रतिबन्ध लगाएका मुलुकले विश्वभर व्यापार व्यवसाय वा अन्य कुनै काम गर्न नपाइने र यो प्रावधानको नेपाल सदस्य राष्ट्र भएको पनि पत्रमा स्मरण गराइएको छ ।

नेपालस्थित उत्तर कोरियाली राजदूतावासका कतिपय कर्मचारी काठमाडौंका होटल रेस्टुरामा संलग्न रहेको बताइएको छ । परिपत्र कार्यान्वयनका लागि राष्ट्रसंघले साउन २७ गते सम्मको समय दिएको छ ।, कारोबारमा खबर छ ।

केरुङमा रोकिए सयौं कन्टेनर 
रसुवाको टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ । रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे–घट्टेखोला सडकखण्डमा पर्ने घट्टेखोला माथिको  पक्की पुलको टेको ठाडो खोलामा आएको वाढीले क्षति पुर्याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो । 

हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामानआयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयौं ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । 

बाघको संरक्षण चुनौतीपूर्ण बन्दै 
मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरूमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्लो समय बढ्दो जनसंख्याका कारण विभिन्न नाममा गरिएका वन क्षेत्रको अतिक्रमणका कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए । 

माछा मार्ने, न्यूरो टिप्ने, तामा काट्ने नाममा मध्यवर्तीका स्थानीय बासिन्दा वन क्षेत्र पस्ने, पर्यटकलाई सबै जसो क्षेत्रमा पु¥याउन खोज्ने, पानीका मुहानहरू सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माइकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जानेजस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उनको भनाइ छ । 

वर्षाको समयमा नदीहरूमा आउने बाढीले घाँसे मैदानमा क्षति पुर्याउँदा र बाघ एवं आहारा प्रजातिका जनावर बगाएर एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउने, मर्नेजस्ता कारण पनि बाघका लागि चुनौतीपूर्ण बनेको ढकालको ठम्याई छ । 

पाकिस्तानमा विभिन्न दलद्वारा आन्दोलनको घोषणा 
पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलको घोषणा गरेका हुन् । आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

महिला फूटबलको उपाधि प्रिन्ट मिडियालाई 
नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फूटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । 

खेल जारी रहेकै बेला रात परेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । विजेता टोली प्रिन्टका लागि पूण्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन । 

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्