
काठमाडौं – अफ्रिकी देश जिम्बाब्वेमा आमनिर्वाचनका लागि मतदान शुरू भइसकेको छ । लामो समयसम्म शासन चलाएका रोबर्ट मुगाबेविना नै यो चुनाव भइरहेको हो ।
सैंतीस वर्षसम्म सत्तामा रहेका मुगाबेलाई अघिल्लो वर्ष राष्ट्रपति पदबाट हटाइएको थियो ।
उनी हटेपछि उनका निकट सहयोगी एवं पूर्व उपराष्ट्रपति इमरसन मनंगांग्वालाई राष्ट्रपति बनाइएको थियो ।
अहिलेको चुनावमा सत्ताधारी पार्टी जानु–पीएफले इमरसनलाई उम्मेदवार बनाएको छ । उनका मुख्य प्रतिद्वन्द्वी विपक्षी दल एमडीसीका उम्मेदवार नेल्सन चमिसा हुन् ।
संसदीय र स्थानीय चुनाव एकैचोटि हुन लागेको हो ।
यसैबीच ९४ वर्षीय पूर्व राष्ट्रपति मुगाबेले सत्ताच्युत भएपछि पहिलोपटक मिडियालाई सम्बोधित गरे । मतदानभन्दा अघि अचानक आएर उनले कुनै समयमा आफ्नो निकट रहेका इमरसनको आलोचना गरे ।
मुगाबेले इमरसनलाई भोट नदिने बताए ।
पहिलोपटक भोट दिइरहेका युवा मतदाताहरू ठूलो संख्यामा निर्वाचनमा आउने सम्भावना जताइएको छ । आधीभन्दा बढी रजिस्टर्ड भोटरहरूको उमेर ३५ वर्षभन्दा कम छ ।
मतदान सुचारु गराउनका लागि निर्वाचनमा सयौं अन्तर्राष्ट्रिय पर्यवेक्षक नियुक्त गरिएको छ । विपक्षीहरूले चाहिँ भोटर लिस्टमा गल्ती गरिएको आरोप लगाएको छ ।
ब्यालट पेपरको सुरक्षा तथा ग्रामीण क्षेत्रमा मतदातालाई धम्क्याउने काम गरिएको पनि विपक्षीको आरोप छ ।
अघिल्लो सत्ताले जिम्बाब्वेको आर्थिक स्थिति ध्वस्त पारिदिएको थियो । लगानी, शिक्षा र स्वास्थ्य सुविधामा भारी कमी आएको थियो । बेरोजगारी दर ९० प्रतिशत रहेको मानिएको छ ।
चुनाव प्रचारको अन्तिम दिन दुई प्रमुख दल जानु–पीएफ र एमडीसीका उम्मेदवारले राजधानी हरारेमा आफ्ना समर्थकहरूका –यालीलाई सम्बोधन गरे ।
जानु–पीएफका उम्मेदवार र वर्तमान राष्ट्रपति मनंगांग्वाले आफ्नो जीतपछि नयाँ जिम्बाब्वे बनाउने वाचा गरे । उनले भने, ‘सोमवार हामी चुनाव जित्दैछौं । हामीहरू भविष्यका लागि मतदान गर्दैछौं । आगामी पुस्ताका लागि मतदान गर्दैछौं ।
हामीहरू मिलेर जन्मभूमिलाई अघि बढाउँछौं । नयाँ जिम्बाब्वे बनाउँछौं ।’
मनंगांग्वाका प्रतिद्वन्द्वी एमडीसी उम्मेदवार नेल्सन चमिसाले पनि जीतको दाबी गरे । उनले त वर्तमान सरकार दिशाहीन भएको आरोप समेत लगाए ।
चमिसा २५ वर्षको उमेरमा सांसद बनेका थिए र जिते भने पनि सबभन्दा युवा राष्ट्रपति बन्नेछन् ।
चमिसाले भने, ‘देशमा आगामी सरकार हाम्रै बन्नेछ । हामी नै विजेता हुनेछौं । यो अवसर गुमायौं भने हामी सधैंका लागि अभिशप्त हुनेछौं किनकि अहिलेको सरकार दिशाहीन र विचारहीन छ ।’
बीबीसीबाट