
काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताएका छन् ।
मन्त्री बस्नेतले आफ्नै मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका विभिन्न कार्ययोजना अघि बढाएको बताए । उनले भने, “विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्र काठको उत्पादनमा तीन गुणा बढी उत्पादन वृद्धि गर्छौं, उत्पादनमा वृद्धि मात्र होइन त्यसको आवश्यकीय व्यवस्थापन पनि गर्छौं ।” हाल मुलुकमा बर्सेनि अर्बौं मूल्य बराबरको काठ र काठजन्य सामग्री विभिन्न मुलुकबाट आयात हुने गरेको छ ।
मन्त्रालयले काठको दिगो व्यवस्थापनका लागि काठमा विभिन्न प्रविधिका उपचार गरी प्रयोग गर्ने, काठ प्रशोधनमा आधारित उद्योग स्थापना गर्ने, वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने र निजी वनबाट हुने वन पैदावारको उत्पादनमा समेत अभिवृद्धि गर्ने सुधारका कार्ययोजना प्राथमिकताका साथ अघि बढाएको छ ।
त्यसका लागि उत्पादनशील वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, चक्ला वन व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता अभिवृद्धि, वनको पहुँच बाहिर रहेका तराई मधेशलगायत सबै क्षेत्रका समुदायलाई वनको पहुँचभित्र ल्याउने, सामुदायिक वनको दिगो व्यवस्थापनलगायत योजना अघि सारिएको मन्त्री बस्नेतले बताए ।
उनले भने, “अहिले नीतिगत र संरचनागत तहका काम धेरै अघि बढेका छन्, यी काम चाँडै टुंगोमा पुग्छन्, मूलतः वन क्षेत्रको सुशासन प्रवर्द्धनकै लाइनमा यी काम छन् । वन क्षेत्रको सुशासन र यसमा हुने अनियमितता तथा चोरी निकासी नियन्त्रणमा हासिल भएका उपलब्धिले राजश्वमा वृद्धि हुनाका साथै हरियाली प्रवर्द्धनसमेत बढेको छ ।”
मुलुकभित्र करीब ६६ लाख हेक्टर वन क्षेत्र रहेकामा सोमध्ये करीब एक लाखभन्दा बढी वन क्षेत्र विभिन्न कारणले अतिक्रमणको चपेटामा परेको छ ।
यस वर्ष हरियाली प्रवर्द्धन र वृक्षरोपण लगायतका काम अभियानका रुपमा सञ्चालन गरेको उनको भनाइ थियो ।
‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ अन्तर्गत हालसम्म कति उपलब्धि हासिल भयो भन्ने जिज्ञासामा मन्त्री बस्नेतले भने, “महाअभियानका प्रमुख तीन कार्य हरियाली प्रवर्द्धन, प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमध्ये अहिले बर्सातको समय भएकाले हरियाली प्रवर्द्धनमा बढी केन्द्रित छौँ ।” बर्सातपछि अन्य दुई कार्यले पनि गति लिने उनको भनाइ थियो ।